सास्थम कलेजद्वारा १२५ विद्यार्थीलाई बिदाइ

Logo
भोजराज घिमिरे शनिबार, आश्विन २४, २०८३

सास्थम कलेजद्वारा १२५ विद्यार्थीलाई बिदा
विराटनगर । साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीएचएम २०८० र बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गरी शुक्रबार बिदाइ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बीएचएम, बीबीए र एमबीए तहका गरी १२५ जना विद्यार्थीलाई बिदाइ गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो।
क्याम्पस प्रमुख केसीका अनुसार बिदाइ हुने विद्यार्थीमध्ये बीएचएमका ५०, बीबीएका ६० र एमबीएका १५ जना रहेका छन्। अध्ययन पूरा गरेका विद्यार्थीको शैक्षिक यात्रालाई सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक तथा व्यक्तिगत जीवन सफल होस् भन्ने शुभकामनासहित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख केसी, क्याम्पस म्यानेजर महेश्वरप्रसाद सिंह, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, राजेश गुरुङलगायत कलेजका प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रवि गणेशले गर्नुभएको थियो।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूले कलेजमा अध्ययन गर्दाका अनुभव, सिकाइ तथा स्मरणीय क्षणहरू साझा गरेका थिए। उनीहरूले आफ्नो शैक्षिक यात्राको महत्त्वपूर्ण चरण पूरा गरेको अवसरमा खुसी व्यक्त गर्दै कलेजमा हासिल गरेको ज्ञान, सीप र अनुभवले आगामी दिनमा व्यावसायिक जीवन अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूलाई अध्ययनका क्रममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै भविष्यमा आफ्नो क्षेत्रमा दक्ष र जिम्मेवार जनशक्तिका रूपमा स्थापित हुन आग्रह गरिएको थियो।
बिदाइ कार्यक्रमले विद्यार्थीहरूबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै अध्ययनपछिको नयाँ यात्राका लागि प्रेरणा र हौसला प्रदान गरेको क्याम्पस प्रमुख केसीले बताउनुभयो।
सन् २००१ मा स्थापना भएको सास्थम कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो। कलेजले पर्यटन, होटल व्यवस्थापन तथा व्यवसाय व्यवस्थापनसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा जोड दिँदै पर्यटन, आतिथ्य सत्कार तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कलेजको प्रमुख उद्देश्य रहेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356