विराट ट्रेड फेयरको सम्पूर्ण तयारी पूरा, बिहीबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने
विराटनगर — विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको विराट ट्रेड फेयर २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनको प्राङ्गणमा व्यापार मेला सञ्चालन हुँदैछ।
ट्रेड फेयरको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार दिउँसो २ः३० बजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिँदै गर्दा विराटनगर तथा आसपासका उपभोक्ताहरू किनमेलका लागि सीमावर्ती भारतीय बजार जोगबनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्दै स्थानीय बजारमै किनमेलको वातावरण बनाउन ट्रेड फेयर आयोजना गरिएको विराट व्यापार संघले जनाएको छ।
‘दसैंको मुखमा जोगबनी होइन, विराटनगरमै किनमेल गरौँ’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाले विराटनगरको स्थानीय व्यापार–व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।
विराट व्यापार संघले ट्रेड फेयर आयोजनाका लागि करिब ७५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ। मेलामा विभिन्न वस्तु तथा सेवाका स्टलहरू राखिने तथा दसैं लक्षित किनमेलका लागि उपभोक्तालाई एउटै स्थानबाट विभिन्न सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
दसैंको समयमा ठूलो रकम सीमापारि जाने गरेको अवस्थामा स्थानीय बजारमै उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ट्रेड फेयरले विराटनगरको व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
