पथरीशनिश्चरे गोल्डकप : एनआरटीलाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा

Logo
Red FM बिहिबार, आश्विन २२, २०८३

पथरीशनिश्चरे गोल्डकप : एनआरटीलाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा
पथरी शनिश्चरे समाचारदाता, असोज २२ गते।
मोरङको पथरीशनिश्चरेमा जारी तेस्रो पथरीशनिश्चरे गोल्डकपको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ। बिहीबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।
पथरीशनिश्चरेको प्रस्तावित रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। दबाबपूर्ण अवस्थामा पुलिसका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे।
खेलको २७औँ मिनेटमा सुजन मगरले गोल गर्दै नेपाल पुलिस क्लबलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता कायम राखेको पुलिसलाई दोस्रो हाफमा भने एनआरटीले कडा चुनौती दियो।
खेलको ५३औँ मिनेटमा एनआरटीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी दिएका थिए। पेनाल्टीको सदुपयोग गर्दै आशिष गुरुङले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन्। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको हो।
टाइब्रेकरमा एनआरटीका मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गरे। एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार पोलमा लाग्यो भने विशाल थिङको प्रहार नेपाल पुलिस क्लबका गोलरक्षक अमित टमटाले उत्कृष्ट बचाउ गरे।
पुलिस क्लबका लागि सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल गरे। कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले रोके। अन्ततः पुलिस क्लबले टाइब्रेकरमा ४–३ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्‍यो।
पुलिसलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका सुजन मगर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
अब उपाधिका लागि नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्नेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा झापा ११ ले युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।
तेस्रो पथरीशनिश्चरे गोल्डकपको उपाधिका लागि शनिबार झापा ११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेलसँगै प्रतियोगिताको उपाधि कसले उचाल्ने भन्ने टुंगो लाग्नेछ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356