

रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले १८ जना बेपत्ता भएका छन्। रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्तामध्ये तीन जना प्रहरी, नौ जना नेपाली कामदार र छ जना चिनियाँ नागरिक रहेका छन्।
बेपत्ता प्रहरीहरूमा रामेछापका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक (एएसआई) लालबहादुर श्रेष्ठ, बाराका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर, र बझाङका २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहरा रहेका छन्। उनीहरू सबै तिमुरे स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।
बेपत्ता भएका नेपाली नागरिकहरूमा बर्दियाका जीवन चौधरी (३६), सन्तोष दहित (३५), बुद्धिराम राम थारु (२५), लक्ष्मीनारायण थारु (२४), र सुरेश थारु (३०) छन्। त्यस्तै, बागलुङका नरेन्द्र बिके, सिन्धुपाल्चोकका फुर्वा लामा, र ठेगाना नखुलेका दुई चालक गोविन्द मोक्तान र लोकमान तामाङ पनि बेपत्तामध्ये परेका छन्।
छ जना बेपत्ता चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाङ, याङ छुवान, यु हैहाङ, यु चियाओ कुई, र झोउ योंग रहेका छन्।
तिब्बतमा परेको भारी वर्षाका कारण बिहान करिब ३ बजेतिर गोसाइँकुण्ड–२ मा बाढी आएको हो। बाढीले नेपाल–चीन मितेरी पुल बगाएको छ जसका कारण सीमा वारपारको आवागमन रोकिएको छ। साथै, बाढीले विद्युतीय सवारी चार्जिङ स्टेसन, भन्सार यार्ड र रसुवागढी जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ।
बाढीपछि उत्तरगया–५ स्थित नदी किनारमा एक अज्ञात शव समेत फेला परेको प्रहरीले जनाएको छ।