

पश्चिमी वायु, स्थानीय हावा तथा बंगालको खाडी र अरबी समुद्रबाट आएको भिजेको हावाको संयुक्त प्रभावका कारण नेपालमा हाल बादल, वर्षा र हिमपातको अवस्था जारी छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भूभागहरूमा मौसम सामान्यतः सफा देखि आंशिक बदली रहनेछ।
आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य केही स्थानहरूमा पनि एकदुई स्थानमा छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपात वा वर्षा पनि हुन सक्ने सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतः सफा देखि आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका एकदुई स्थानहरूमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र बागमतीका उच्च भूभागमा पनि हल्का हिमपात वा वर्षा हुनसक्ने सम्भावना छ |