कोशी मुख्यमन्त्री कार्यालयबाट ३० ल्यापटप र १४ मोबाइल गायब, कर्मचारी शंकाको घेराम
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण र कर्मचारी संयन्त्रको जवाफदेहितामाथि गम्भीर प्रश्न उठ्ने गरी उजुरी दर्ता भएको छ।
कार्यालयको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सीएम’मा ‘अति जरुरी’ शीर्षकमा दर्ता गरिएको उजुरीमा २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नष्ट भएको भनिएका सरकारी सामग्रीको वास्तविक अवस्थाबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
उजुरीमा आन्दोलनका क्रममा जलेर नष्ट भएको भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल फोनको विषय विशेष रूपमा उठाइएको छ। ती सामग्री वास्तवमै आगजनीमा नष्ट भएका हुन् वा अन्यत्र लगिएको हो भन्ने विषयमा प्रश्न उठाउँदै सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। त्यस घटनापछि सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको विवरण सार्वजनिक गरिएको थियो।
तर पछिल्लो उजुरीपछि उक्त घटनामा नष्ट भएको भनिएका ल्यापटप र मोबाइल फोनको अवस्थाबारे शंका उत्पन्न भएको छ। उजुरीकर्ताले सरकारी अभिलेख, जिन्सी विवरण र क्षतिको मूल्यांकन प्रतिवेदनको आधारमा निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
उजुरी सार्वजनिक भएसँगै कार्यालयका केही कर्मचारीमाथि समेत शंका व्यक्त गरिएको छ। यद्यपि हालसम्म सम्बन्धित निकायले औपचारिक रूपमा कसैलाई दोषी ठहर गरेको छैन।
यस विषयमा छानबिन प्रक्रिया अगाडि बढाइएपछि मात्रै ३० थान ल्यापटप र १४ थान मोबाइल फोनको वास्तविक अवस्था तथा जिम्मेवारीबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।
