विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट सेकेण्डरी स्कुलका ३० जना कराँते खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यालयमा तीन महिनाको प्रशिक्षणपछि गरिएको ग्रेडिङअनुसार विद्यार्थी खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन्। राष्ट्रिय खेलाडी तथा राष्ट्रिय कराँते प्रशिक्षकसमेत रहेका विद्यालयका कराँते प्रशिक्षक विवेक थापाका अनुसार ग्रेडिङमा सहभागीमध्ये ७ जना विद्यार्थीले ग्रीन बेल्ट र २३ जनाले ओरेन्ज बेल्ट प्राप्त गरेका छन्।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कराँते खेल आत्मरक्षाका लागि समेत महत्वपूर्ण रहेको बताए। खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
‘हाम्रा विद्यार्थीले पढाइका साथसाथै कुनै न कुनै अतिरिक्त क्रियाकलापमा भाग लिनैपर्ने व्यवस्था मिलाइएको छ,’ प्रिन्सिपल पुरीले भने, ‘यो विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एउटा महत्वपूर्ण कदम हो।’
नेपालले कराँतेका विभिन्न विधामार्फत अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई पढाइसँगै खेलकुदमा पनि निरन्तर अघि बढ्न आग्रह गरे। उनले ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कराँते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले ‘सक्दा राष्ट्रलाई, नसक्दा पनि स्वास्थ्यलाई’ भन्ने मूल भावनाका साथ पढाइसँगै खेलकुदलाई अघि बढाउन विद्यार्थीलाई आग्रह गरे।
विद्यालयले खेलकुदलाई समेत उत्तिकै प्राथमिकता दिँदै आवश्यक वातावरण र दक्ष प्रशिक्षकको व्यवस्था गरेको भन्दै न्यौपानेले विद्यार्थीलाई त्यसको भरपूर सदुपयोग गर्न आग्रह गरे।
कार्यक्रममा विद्यार्थी खेलाडीहरूले विभिन्न काता प्रदर्शनसमेत गरेका थिए। एभरेस्ट सेकेण्डरी स्कुलमा हाल सयौं विद्यार्थी कराँते प्रशिक्षणमा आबद्ध रहेको अतिरिक्त क्रियाकलाप इन्चार्ज डंगोलले बताइन्। उनका अनुसार विद्यालयमा कराँतेसहित दर्जनौं विधाका खेलकुद तथा अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
