साझा प्रयास नेपाल ले विराटनगरमा ७ दिने उद्यमशील तालिम सम्पन्न, २० जना सहभागी लाभान्वित
विराटनगर, वैशाख ९ — साझा प्रयास नेपालको आयोजना तथा विराटनगर महानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको ७ दिने उद्यमशील तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालित तालिममा २० जना सहभागी लाभान्वित भएका छन्।
तालिममा धुप, सिन्के धुप (अगरबत्ती) तथा कोन धुप बनाउने सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले उत्पादन प्रक्रिया, कच्चा पदार्थको प्रयोग, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी समेत हासिल गरेका छन्।
समापन कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने एबीसी नेपाल तथा गैरसरकारी संस्था महासंघ मोरङका जिल्ला अध्यक्ष विष्णु शर्मा विशिष्ट अतिथि रहेका थिए।
तालिमका मुख्य प्रशिक्षक सुनिता छाराङ, सहायक प्रशिक्षक सोमी भगत तथा कार्यक्रम संयोजक आशा खत्रीले सहभागीहरूलाई आवश्यक व्यावहारिक ज्ञान तथा सीप प्रदान गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष मधुबाबु तिवारीले सीपमूलक तालिमले समाजमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “युवायुवती तथा महिलाहरूले यस्ता तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सक्नुपर्छ। वडा कार्यालयले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ।”
विशिष्ट अतिथि विष्णु शर्माले सीप नै आजको मुख्य सम्पत्ति भएको उल्लेख गर्दै सहभागीहरूलाई सिकेको ज्ञानलाई आयआर्जनसँग जोड्न आग्रह गरे। उनले भने, “तालिम लिएर मात्रै होइन, सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके मात्र यसको वास्तविक उपलब्धि देखिन्छ।”
संस्थाकी अध्यक्ष आशा खत्रीले साझा प्रयास नेपालले महिलाको सशक्तीकरण, स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। उनले भनिन्, “विशेषगरी महिलाहरूलाई घरमै बसेर पनि आयआर्जन गर्न सक्ने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।”
सहभागीका तर्फबाट संगीता यादवले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिने बताइन्।
तालिम सफलतापूर्वक सम्पन्न गरेका २० जना सहभागीहरूलाई प्रमुख अतिथि मधुबाबु तिवारी, विशिष्ट अतिथि विष्णु शर्मा तथा संस्थाकी अध्यक्ष आशा खत्रीले प्रमाणपत्र वितरण गरेका थिए।
आयोजक संस्था साझा प्रयास नेपालले “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारालाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
