एपीएफ स्तब्ध ! चर्च ब्वाइज सेमिफाइनलमा
३८औँ विराट गोल्डकपमा समीर तामाङको निर्णायक गोल, पूर्वविजेता पहिलो खेलमै बाहिरियो
विराटनगर । उपाधि दाबेदार मानिएको एपीएफ क्लबलाई स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेड ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति शहीद रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा चर्च ब्वाइजले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
चर्च ब्वाइजको जितमा समीर तामाङ नायक बने। खेलको २७औँ मिनेटमा आशिष सोनामले दिएको सटिक क्रसलाई नियन्त्रणमा लिँदै उनले गरेको आकर्षक गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका समीर ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
खेलभरि दबाब सिर्जना गरेको एपीएफले भने पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफको ४४औँ मिनेटमा मणिकुमार लामाको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो भने दोस्रो हाफमा प्रदीप लामाको शक्तिशाली प्रहार चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले शानदार बचाउ गरे।
६३औँ मिनेटमा सविन गुरुङले पाएको सुनौलो अवसर पनि गुमाउँदा एपीएफ निराश बन्यो। उता चर्च ब्वाइजले पनि ६९औँ मिनेटमा सुरज गौतममार्फत अग्रता दोब्बर बनाउने मौका पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्कियो।
२०७८ सालको विजेता एपीएफ यसपटक भने पहिलो खेलबाटै बाहिरिएको छ। उपाधि दाबेदार टोलीले आधा दर्जनभन्दा बढी अवसर खेर फालेपछि प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
