

मोरङ, —
सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र सेवाका लागि बिहान ७ बजेदेखि नै सेवा प्रदान गर्न सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको भीड बढेपछि सेवा समय अगाडि सारिएको हो। “बिहानै सेवाग्राही आउने तर कार्यालय १० बजे मात्रै खुल्ने अवस्था थियो, जसले उनीहरूलाई असहज हुने गरेको थियो,” उनले बताए, “त्यही कारण बिहानैदेखि सेवा दिन थालिएको हो।”
अब अर्को सूचना नभएसम्म कार्यालयले बिहान ७ बजेदेखि सेवा दिनेछ। हाल बिहानको समयमा दैनिक ३० जना भन्दा बढी सेवाग्राहीले परिचयपत्र बनाउन प्रक्रिया अगाडि बढाइरहेका छन्।
सेवाको प्रभावकारी कार्यान्वयनका लागि बिहानै ४ जना कर्मचारी फोटो खिच्ने र विवरण रुजु गर्ने कार्यमा खटाइएका छन्। कार्यालयको यो निर्णयबाट सेवाग्राहीलाई समयमै सेवा पाउन सहज भएको छ।