प्रतिनिधिसभा निर्वाचन नलड्ने कांग्रेसका ७ नेता, नेतृत्व परिवर्तनको मागले पार्टीभित्र चर्कियो बहस

Logo
भोजराज घिमिरे आइतबार, पुष १३, २०८२

प्रतिनिधिसभा निर्वाचन नलड्ने कांग्रेसका ७ नेता, नेतृत्व परिवर्तनको मागले पार्टीभित्र चर्कियो बहस
विराटनगर/काठमाडौं — फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू उम्मेदवार सिफारिसमा व्यस्त छन् । तर विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा भने आगामी निर्वाचन नलड्ने घोषणा गर्ने नेताहरूको संख्या बढ्दै गएको छ ।
कांग्रेसका तीन पदाधिकारीसहित ७ जना प्रभावशाली नेताले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । केही नेताले पार्टीभित्र नेतृत्व परिवर्तनको सर्त अघि सारेका छन् भने केहीले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफू पछि हट्ने बताएका छन् ।
निर्वाचन नलड्ने घोषणा गर्ने नेताहरूमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य राजेन्द्र केसी र मानबहादुर विश्वकर्मा, तथा धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी रहेका छन् ।
नेतृत्व परिवर्तन नभए निर्वाचनमा नजाने गगन थापा
महामन्त्री गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए आगामी निर्वाचन नलड्ने स्पष्ट सर्त अघि सारेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले निर्वाचनअघि नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका हुन् ।
‘निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने निर्वाचनमा जान सम्भव छैन,’ बैठकमा थापाले भनेको स्रोतले जनाएको छ । नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जाने हो भने आफू उम्मेदवार नबन्ने उनले स्पष्ट पारेका छन् ।
थापाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नै नेतृत्व परिवर्तन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने उनको माग छ ।
२०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित थापाको नाम यसपटक काठमाडौं–४ सहित ६ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भए पनि उनले सर्त नपुरा भए उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
‘नयाँ राजनीतिक संस्कारका लागि पछि हटेँ’ – विश्वप्रकाश शर्मा
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आफू लगातार तीन पटक उम्मेदवार बनिसकेको भन्दै राजनीतिक प्रवृत्तिमा परिवर्तन ल्याउन यसपटक निर्वाचन नलड्ने निर्णय लिएको बताएका छन् । उनले स्वेच्छिक रूपमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
कांग्रेसको रणनीतिमा प्रश्न
पार्टीभित्र प्रभावशाली नेताहरूले निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेस फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कसरी सहभागिता जनाउँछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ । नेतृत्व परिवर्तन, पुस्तान्तरण र उम्मेदवार चयन प्रक्रियाले कांग्रेसको आगामी चुनावी रणनीतिमा निर्णायक प्रभाव पार्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356