सौराहामा १९औँ हात्ती महोत्सव सुरु, पर्यटन प्रवर्धन र संरक्षणमा जोड
चितवन । पर्यटकीय नगरी सौराहामा १९औँ संस्करणको हात्ती महोत्सव सुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गर्दै पर्यटनसँगै हात्ती संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।
पर्यटन प्रवर्धनका उद्देश्यले आयोजना हुँदै आएको हात्ती महोत्सवप्रति पशु अधिकारकर्मीले आलोचना गरिरहेका बेला आयोजकले हात्तीमाथि कुनै प्रकारको यातना नदिइएको स्पष्ट पारेका छन्। महोत्सव संयोजक गुणराज थपलियाले बाहिर आएका आरोपहरू सत्य नभएको दाबी गर्दै भने, “हात्तीलाई यातना दिएर होइन, माया र उचित स्याहार गरेर नै महोत्सवमा सहभागी गराइएको हो। यो विशुद्ध रूपमा पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको कार्यक्रम हो।”
उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले हात्तीको संरक्षण गरेर लोपोन्मुख अवस्थाबाट जोगाउनु आजको आवश्यकता भएको उल्लेख गरे। उनले भने, “हात्ती र मानवबीचको सम्बन्ध संरक्षणले अझ नजिक बनाएको छ। हात्तीको संख्या घट्दै जानु चिन्ताको विषय हो, त्यसैले यसको संरक्षणलाई आजकै बहसको विषय बनाउनुपर्छ।”
रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको महोत्सवको पहिलो दिन हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता गरिएको थियो। मुख्यमन्त्री बानियाँले हात्तीलाई बल प्रहार गरेर महोत्सवको औपचारिक उद्घाटन गरेका हुन्।
महोत्सवअन्तर्गत हात्ती शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य परीक्षण, हात्तीको दिनचर्याबारे जानकारी दिने कार्यक्रम तथा हात्ती पूजा लगायतका गतिविधि समावेश गरिएको महोत्सव अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए।
सरकारी तथा निजी गरी ८० वटा हात्ती सहभागी महोत्सवले सौराहामा पर्यटक संख्या वृद्धि गर्न सहयोग पुगेको अध्यक्ष पाण्डेले बताए।
