

धरान उपमहानगरपालिका–१४, विजयपुरडाँडाको मनोरम र शान्त परिवेशमा अवस्थित पिण्डेश्वर महादेव मन्दिर आजकाल एक आध्यात्मिक ऊर्जा र धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ। “अमृतपिण्ड पिण्डेश्वर महादेव” का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक कथा र प्राकृतिक सौन्दर्यको त्रिवेणी हो।
प्रत्येक दिन सयौँ श्रद्धालु यहाँ पुग्ने गर्छन्—कोही शान्तिको खोजीमा, कोही जीवनका मनोकामनासहित, र कोही पौराणिक गाथाहरूको साक्षी बन्न।
काठमाडौँबाट परिवारसहित दर्शनमा आएका कुमार श्रेष्ठ भन्छन्, “पिण्डेश्वर मन्दिर आउनासाथ आत्मा शान्त हुन्छ। यो मन्दिर केवल पूजाको थलो होइन, यो त आत्मिक शुद्धिको यात्राको प्रारम्भ हो।” उहाँले थप्नुभयो, “समुद्र मन्थनबाट उत्पन्न अमृतको पिण्ड यहीं खसेको जनविश्वासले यो मन्दिरलाई अझ विशिष्ट बनाएको छ।”
पहिलो पटक पिण्डेश्वर पुगेका मोरङका रमेशकुमार साह भन्छन्, “यहाँको मौनता आफैँमा मन्त्रजस्तो लाग्छ। यो स्थानको शान्त वातावरण र पौराणिक महत्त्वले आत्मालाई आध्यात्मिक ऊर्जाले भरिदिन्छ।”
साउने सोमबारदेखि महाशिवरात्रिसम्म, यहाँ धार्मिक ऊर्जा झन् प्रबल हुन्छ। साउन महिनाभरि बोलबमका स्वरहरूसँगै भक्तजन सप्तकोशी नदीबाट जल ल्याई शिवलिङ्गमा अर्पण गर्न आउँछन्। यति बेला पिण्डेश्वर क्षेत्र जीवन्त तीर्थस्थल जस्तै लाग्छ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीका अनुसार अहिले शनिबार र मङ्गलबार पनि यहाँ श्रद्धालुको घुइँचो लाग्न थालेको छ। मन्दिरबाहिर सामान्य देखिए पनि भित्र पस्दा झन् गहिरो आध्यात्मिक अनुभूति हुन्छ। यहाँ १० भन्दा बढी साना-ठूला मन्दिरहरू, ऐतिहासिक पोखरी, सरस्वती मूर्ति र शिवलिङ्ग अगाडि रहेको ढुङ्गाको बसाहाले आस्था थप घनिभूत बनाउँछन्।
२२ वर्षदेखि फूलमाला बेच्दै आएकी इन्दिरा खड्काजस्ता स्थानीय व्यवसायीहरू भक्तजनहरूलाई सेवा दिँदै धार्मिक पर्यटनको सहयात्री बनेका छन्। उनका अनुसार भक्तजन बढेसँगै व्यावसायिक गतिविधि पनि बढेको छ।
समितिकी सदस्य रञ्जिता कट्वालका अनुसार यहाँ दैनिक एक हजारदेखि पन्ध्र सयसम्म भक्तजन पुग्ने गरेका छन्। प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला आयोजना हुन्छ, जसले मन्दिरको धार्मिक गरिमा झनै बढाएको छ।
नेपालभरिका विभिन्न जिल्लाबाट मात्रै होइन, भारतको सिक्किम र दार्जिलिङजस्ता क्षेत्रहरूबाट समेत श्रद्धालुहरू यहाँ आउने गरेका छन्। मन्दिर सर्वधर्म समभावको प्रतीक बनेको छ—जहाँ जात, धर्म, वर्गभन्दा माथि उठेर सबैले आस्था प्रकट गर्छन्।
तर, यहाँको प्रमुख चुनौती भनेको बासस्थानको अभाव हो। दर्शनार्थीको संख्या दिनप्रतिदिन बढिरहेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी यसको समुचित व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धनमा ध्यान दिनु अत्यावश्यक भएको कट्वालले बताउनुभयो।