

पाकिस्तानको पञ्जाब प्रान्तमा आएको आँधीबेहरीका कारण विभिन्न स्थानमा भएका घटनाहरूमा ८ जनाको मृत्यु र ४५ जना घाइते भएको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (PDMA) ले पुष्टि गरेको छ, जिओ न्यूजले जनाएको छ।
PDMA का प्रवक्ताका अनुसार अधिकांश मृत्यु जीर्ण भवनहरू भत्किनु र असुरक्षित संरचनामा बसोबासका कारण भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
जिओ न्यूजका अनुसार झेलममा ३ जनाको मृत्यु भएको छ भने रावलपिन्डी, शेखुपुरा, ननकाना साहिब, सियालकोट र मियानवालीमा जनही १ जनाको मृत्यु भएको छ। लाहोरमा आँधीबेहरीका कारण रुखहरू ढलेको र सोलार प्यानलहरूमा क्षति पुगेको घटनाहरू पनि रिपोर्ट गरिएको छ।
उता उद्धार अधिकारीहरूले लाहोरमा मात्र १० जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिएका छन्। पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले भारी वर्षा र आँधीको सम्भावना रहेको भन्दै प्रशासन र उद्धार टोलीहरूलाई सतर्क रहन निर्देशन दिएकी छन्।
यसअघि, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले मौसमसम्बन्धी सल्लाह जारी गर्दै आउँदो १२ देखि ३६ घण्टासम्म पञ्जाब, इस्लामाबाद र खैबर पख्तुनख्वाका विभिन्न भागहरूमा छिटफुट वर्षा, गड्यौलीसहितको हावाहुरी, आँधी र धुलो आँधीको सम्भावना रहेको बताएको थियो।
जिओ न्यूजअनुसार, स्थानीय बासिन्दाहरूलाई सतर्क रहन, हल्का वस्तुहरू सुरक्षित राख्न र अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कन सुझाव दिइएको छ। NDMA अन्तर्गतको नेशनल इमर्जेन्सी अपरेसन सेन्टर (NEOC) ले प्रभावमा आधारित चेतावनी जारी गर्दै बलियो हावा र आँधीका कारण कमजोर रूखहरू ढल्न सक्ने र अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने जनाएको छ।
धुलो आँधीका कारण कमजोर संरचना, छाना, सवारीसाधन र विद्युतीय संरचनामा क्षति पुग्न सक्ने खतरा रहेको छ भने आँधीका क्रममा देखिने क्षमतामा आएको कमीले सडक दुर्घटनाको जोखिमसमेत बढ्ने बताइएको छ।
जोखिमयुक्त क्षेत्रहरूमा इस्लामाबाद, रावलपिन्डी, अटोक, झेलम, चकवाल, मियानवाली, सियालकोट, फैसलाबाद, सरगोधा, गुजरानवाला, गुजरात, लाहोर, नारोवाल र वरपरका क्षेत्रहरू रहेका छन्।
खैबर पख्तुनख्वाको चित्राल, बत्तग्राम, कोहिस्तान, कोहाट, कुर्रम, बन्नु, मर्दान, पेशावर, स्वाबी, चारसद्दा, नौशेरा, मनसेरा, एबटाबाद, डेरा इस्माइल खान, बाजौर, मोह्मन्द लगायतका जिल्लामा पनि आउँदो १२ देखि ३६ घण्टाभित्र छिटफुट वर्षा, हावाहुरी, गड्यौलीसहितको आँधी र धुलो आँधीको सम्भावना रहेको छ।