नेपाल-चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान २०८१ सम्पन्न |

Logo
Red FM आइतबार, जेठ १२, २०८२

गुइलिन, चीन — नेपाल र चीनबीचको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धनका लागि गुइलिनमा सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजनामा, चाङ्दोङसी गुइलिन इस्टेट म्यानेजमेन्ट र गुइलिन एलिट एजुकेशन कन्सल्टिङको सह-आयोजनामा तेस्रो एसएमएस नेपाल-चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान २०८१ शनिबार राति सम्पन्न भयो।

कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुतिहरू दिए। नेपालबाट गायिका देविका वन्दना, गायक कमल खत्री र नेशनल डाइनामिक आर्ट ग्रुपले विशेष सांगीतिक प्रस्तुति दिए, भने चिनियाँ कलाकारहरूले पनि नृत्य र गीत प्रस्तुत गरे।

एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले यो कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनका लागि पुलको रूपमा रहेको बताइन्। “हामीले नेपालको पहिचान र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य यो प्लेटफर्ममार्फत् साकार पारिरहेका छौं,” उनले भनिन्।

कार्यक्रममा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले नेपाल र चीनबीच भौगोलिक निकटता मात्र नभई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरू पनि रहेको उल्लेख गरे। “प्राचीन बौद्ध गुम्बादेखि आजको पूर्वाधार र पर्यटन साझेदारीसम्म हाम्रो मित्रता समयसँगै बलियो, गहिरो र अर्थपूर्ण बन्दै गएको छ,” उनले भने।

कार्यक्रमका प्रमुख अतिथि गुइलिन युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका सचिव ब्लाङ स्यानफेङले यस्तो कार्यक्रमले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुर्‍याएको बताए।

सो अवसरमा गुइलिन सांस्कृतिक स्वयंसेवक संघका अध्यक्ष लिन बिन, गुइलिन युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका उप-निर्देशक झाङ गाओलिआन, गुइलिन सिटी ग्लोरी कोज प्रमोशन एसोसिएसनका उपाध्यक्ष याङ युनवु, गुइलिन एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङस्यान र लिजियाङ रेस्क्यु सेन्टरका कप्तान मो गुआङफु पनि उपस्थित थिए।

कार्यक्रममा सगरमाथा आरोही मिद्ना डेम्बे शेर्पाले पर्वतारोहणमार्फत् पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिए। उनले विश्वका ८,००० मिटरभन्दा माथिका विभिन्न हिमालहरू ३३ पटक सफलतापूर्वक आरोहण गरेको अनुभव पनि साझा गरे।

कार्यक्रममा गायिका देविका वन्दनालाई ‘इमर्जिङ सिंगर अवार्ड’ र गायक कमल खत्रीलाई ‘बेस्ट सिंगर अवार्ड’ प्रदान गरिएको थियो।

एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवर्द्धनमा समर्पित यस्ता कार्यक्रमहरूले दुई देशबीच जनस्तरको समझदारी गहिरो बनाउने विश्वास व्यक्त गरे। “हामी हाम्रो देशको सांगीतिक सम्पदा, कला र संस्कृतिलाई यो अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिरहेका छौं,” मोक्तानले भने।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356