न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेनाको जहाज ठोक्किँदा २ जनाको मृत्यु, १९ घाइते |

Logo
Red FM आइतबार, जेठ ०५, २०८२

मेक्सिकन नौसेनाको प्रशिक्षण जहाज ‘कुआउटे́मोक’ शनिबार राति न्यूयोर्क सहरको ऐतिहासिक ब्रुकलिन ब्रिजमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “शनिबार राति मेक्सिकन नौसेनाको टल शिप कुआउटे́मोकले शक्ति गुमाएर ब्रुकलिन ब्रिजमा ठोक्कियो। जहाजमा रहेका २७७ मध्ये १९ जना घाइते भएका छन्, जसमा दुईको अवस्था गम्भीर छ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।”

न्यूयोर्क प्रहरी विभागका प्रमुख विल्सन अराम्बोल्सले शनिबारको प्रेस सम्मेलनमा बताएअनुसार, राति ८:३० बजे जहाजको शक्ति गुमेपछि कप्तानले नियन्त्रण गुमाएका थिए, जसले गर्दा जहाज ब्रिजको स्तम्भतर्फ धकेलिएको थियो र जहाजको मास्टले ब्रिजको तल्लो भागमा ठोक्किँदा मास्ट भाँचिएको थियो।

घटनापछि ब्रुकलिन ब्रिजका सबै लेनहरू केही समयका लागि बन्द गरिए पनि राति १०:३० बजे पुनः खोलिएको थियो। न्यूयोर्क सिटीको यातायात विभागका अनुसार, प्रारम्भिक निरीक्षणमा ब्रिजमा कुनै संरचनात्मक क्षति देखिएको छैन।

मेक्सिकन नौसेनाको ‘कुआउटमोक’ जहाज सन् १९८२ मा स्पेनमा निर्माण गरिएको हो र यो विभिन्न देशहरूमा सद्भावना भ्रमणका लागि प्रयोग गरिन्छ। न्यूयोर्क भ्रमणपछि जहाज आइसल्यान्डतर्फ प्रस्थान गर्ने तयारीमा थियो।

हाल घटनाको अनुसन्धान अमेरिकी तटरक्षक बल र राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रूपमा गरिरहेका छन्। मेक्सिकन नौसेनाले पनि आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356