

भारत र पाकिस्तानबीचको सैन्य तनाव विहीबार बेलुकीबाट युद्धको रुप लिँदैछ। दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल आक्रमण गरेका छन्, जसले क्षेत्रीय अवस्था थप जटिल बनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ। यी आक्रमणहरू जम्मु-कश्मीरदेखि लिएर राजस्थान र पञ्जाबको सीमाक्षेत्रसम्म केन्द्रित छन्। भारतले आफ्नो अत्याधुनिक S-400 एयर डिफेन्स मिसाइल सिस्टम प्रयोग गरी ती आक्रमणहरू नाकाम बनाएको दाबी गरेको छ।
भारतीय वायु सेनाले पाकिस्तानको F-16 विमान खसालेको पनि जानकारी हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरस्थित भारतीय सैन्य ब्यारेकमा आक्रमण प्रयास गरेपनि सबै आक्रमण असफल पारिएको छ।
सैन्य द्वन्द्वको असर खेल क्षेत्रमै पनि देखिएको छ। हिमाचल प्रदेशको धर्मशालामा जारी आईपीएल खेल—पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको प्रतिस्पर्धा सुरक्षाको कारण स्थगित गरिएको छ।
स्थिति थप संवेदनशील बनिरहेको सन्दर्भमा दुवै देशका सेना सतर्क अवस्थामा छन्। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।