

संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयको निर्णयले प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न गर्ने उल्लेख गरेको छ।
महासंघका अनुसार यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्रीलाई सोधिएको प्रश्न संसदीय मर्यादा र अनुशासनविपरीत रहेको भन्दै सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो। तर महासंघले पत्रकार आचारसंहिता उल्लङ्घन भए–नभएको मूल्याङ्कन गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र रहेको प्रस्ट्याएको छ।
“पत्रकारले सोधेका प्रश्नहरूको मूल्याङ्कन गर्ने जिम्मेवारी काउन्सिलको हो। संसद् सचिवालयले एकतर्फी निर्णय लिँदा प्रेस स्वतन्त्रताको सम्मान हुने छैन,” महासंघको विज्ञप्तिमा उल्लेख छ। महासंघले सचिवालयलाई पास निलम्बन फिर्ता लिई पत्रकारिताको स्वतन्त्रतालाई सुरक्षित राख्न आग्रहसमेत गरेको छ।