

विराटनगरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका पवन श्रेष्ठलाई अवैध वित्तीय कारोबार तथा ठगी आरोपमा पक्राउ गरिएको छ। चाँदनी गहना सो–रुम नामक पसल सञ्चालन गर्दै आएका श्रेष्ठले पासबुकमार्फत सर्वसाधारणबाट लाखौं रुपैयाँ संकलन गरी फरार भएको आरोप लागेको छ।
माघ २१ गते सुनसरीबाट पक्राउ परेका श्रेष्ठविरुद्ध अहिलेसम्म ११ जनाले उजुरी दिएका छन्, जसअनुसार उनले ८६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ। प्रहरीले अझै थप पीडितहरू हुन सक्ने भन्दै उजुरी दिन आग्रह गरेको छ।
प्रहरीका अनुसार श्रेष्ठले गैरकानुनी रूपमा वित्तीय कारोबार गरी सर्वसाधारणलाई उच्च ब्याजको प्रलोभन देखाएर ठगी गरेका हुन्। अनुसन्धानका क्रममा उनले ठगिएको रकम घरजग्गा खरिदलगायत व्यक्तिगत प्रयोजनमा खर्च गरेको खुलासा भएको छ। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।