

देशमा थप एउटा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार मात्रै सिद्धार्थ राजमार्गअन्तर्गत १ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो । २०८४ मंसिरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको यस सुरुङमार्गका कारण लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, मुस्ताङलगायतका क्षेत्रका स्थानीयले सहज रूपमा यात्रा गर्न पाउनेछन् ।
मुख्यतः त्यस सडक खण्डमा हुने बारम्बारको दुर्घटनामा परी ज्यान गुमाउने, अंगभंग हुने वा भौतिक सम्पत्तिमा भइरहेको क्षतिमा कमी आउने अपेक्षा गरिएको छ । खासमा सडकमार्गलाई छोट्याउन बनाइएका यस्ता सुरुङमार्गको सफलता नै छोटो र सहज यात्रासँग जोडिन्छ ।
व्यक्तिगत रूपमा यात्रुलाई हुने लाभका अतिरिक्त राज्यले पनि प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिन सक्छ । पछिल्लो समय विभिन्न सडक खण्डमा निर्माणाधीन वा अध्ययनका क्रममा रहेका सुरुङमार्गको निर्माण पूर्ण भई सञ्चालनमा आएपछि बढीभन्दा बढी लाभ लिन सकिने विश्वास बढेको छ ।
खासगरी जलविद्युत् आयोजना सञ्चालनका लागि निर्माण गरिएका सुरुङमार्गको ‘ब्रेक थ्रु’ नियमित भइरहन्छन् । त्यस्तै, मेलम्ची खानेपानी आयोजना, अतिरिक्त सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना तथा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ उल्लेखनीय ठानिएका थिए । मेलम्ची आयोजनाबाट त सिन्धुपाल्चोकको पानी काठमाडौं आउन थालिसकेको छ ।