विराटनगरमा ‘महिला नेतृत्व सम्मेलन २०२६’ हुँदै, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने -विराटनगर — नेपाल उद्योग परिसंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा राष्ट्रियस्तरको “महिला नेतृत्व सम्मेलन २०२६ (CNI Women Leadership Summit 2026)” आयोजना हुने भएको छ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिका सँगको सहकार्यमा वैशाख २१ गते हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
“दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, स्थानीय सीप तथा नवप्रवर्तनका विषयमा गहन छलफल हुने बताइएको छ।
सम्मेलनमा आर्थिक, औद्योगिक, बैंकिङ, राजनीतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। साथै, सफल महिला उद्यमीहरूको प्रेरणादायी कथा प्रस्तुत गरिनुका साथै स्वदेशी उत्पादनहरूको प्रदर्शनीसमेत गरिनेछ।
कार्यक्रमका आकर्षणमा डिजिटल प्रविधि (फोनपे लगायत) सम्बन्धी छलफल, महिला उद्यमीहरूको अनुभव आदानप्रदान तथा उद्यमी, नीति निर्माता र विकास साझेदारबीच नेटवर्किङ कार्यक्रम रहनेछन्।
कार्यक्रम विराटनगरस्थित होटेल मनास्लु इन मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार सम्मेलनमार्फत कोशी प्रदेशसहित देशभरका महिला उद्यमी, उद्योगी–व्यवसायी तथा वित्तीय संस्थाहरूलाई एकै मञ्चमा ल्याई समावेशी आर्थिक विकास र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास लिइएको छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले सविना काफ्ले लाई विशिष्ट अतिथिको रूपमा आमन्त्रणा गरेको र उनले उक्त निम्तो स्वीकार गर्दै विराटनगर आउने कार्यक्रम तय भएको छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभाका सदस्य पवन सारडा ले सम्मेलनमा ३ सयभन्दा बढी महिलाको सहभागिता रहने जानकारी दिए। उनले महिलालाई कसरी सशक्त बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने बताए।
वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा ले क्षमतावान महिलालाई उद्यमी बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।
कार्यक्रम संयोजक गिरिजा सारडा का अनुसार सम्मेलनले देशभरका महिला उद्यमी, नीति निर्माता, विकास साझेदार तथा वित्तीय संस्थाहरूबीच सहकार्य बढाउने लक्ष्य राखेको छ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे तथा महिला उद्यम समिति संयोजक रचना राठी लगायतको उपस्थिति रहेको थियो।
