ब्रिक्सले जुराएकाे सम्बन्ध सुधार्ने अवसर

Logo
Red FM शुक्रबार, कार्तिक ०९, २०८१

काठमाडौँ —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले पाँच वर्षमा पहिलोपटक औपचारिक वार्ता गरेका छन् । भारतका सरकारप्रमुख र चीनका राष्ट्रप्रमुखबीचको भेटवार्ताले सन् २०२० मा भएको घातक सैन्य झडपका कारण बिग्रिएको एसियाका दुई शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धमा अभूतपूर्व सुधार आउने संकेत देखाएको छ ।

सीमा क्षेत्रको तनावका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला ब्रिक्स सम्मलेनमा भाग लिन रुसको कजाक सहर पुगेका मोदी र सीले साइडलाइन वार्ता गरेका हुन् । सम्मेलनको पूर्वसन्ध्यामा भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्न उनीहरुबीच सहमति भएको थियो ।

भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार सीमाक्षेत्रमा गस्तीको व्यवस्था गर्ने र तनाव अन्त्य गर्ने सहमति भएको थियो । ‘भारत–चीनबीच सीमा क्षेत्रहरूमा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा गस्ती प्रबन्धका विषयमा सम्झौता भएको छ । यसले चार वर्षदेखिको तनाव अन्त्य गरेको छ,’ उनले भनेका थिए ।

भेटका क्रममा मोदी र सीले आफ्नो राष्ट्रिय झण्डा देखाइएको पृष्ठभूमिमा हात मिलाउँदै दुई देशबीच जारी विवादहरू समाधान गर्न आवश्यक रहेकामा जोड दिएका छन् । त्यस्तै, समस्या समाधान गर्न आ–आफ्ना शीर्ष अधिकारीबीचको बैठकका लागि पहिले नै मिति तय गर्न सहमत भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध विश्वव्यापी शान्तिको लागि महत्त्वपूर्ण भएको बताएका छन् । ‘सीमामा शान्ति र स्थायित्व कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ । पारस्परिक विश्वास, आपसी सम्मान र पारस्परिक संवेदनशीलता नै हाम्रो सम्बन्धको आधार बन्नुपर्छ,’ भेटमा मोदीले भनेका छन् ।

३६ देशका नेताहरू सहभागी ब्रिक्स सम्मेलनमा व्यापारका लागि अमेरिकी डलरको विकल्पमा मुद्रा विकसित गर्ने उपायहरूबारे पनि छलफल भएको थियो । १६ औं ब्रिक्स शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका साथै टर्की, इरान, दक्षिण अफ्रिका इजिप्ट, इथियोपिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया र अजरबैजान लगायत देशका नेताहरूको सहभागिता थियो ।

बीबीसीका अनुसार राष्ट्रपति सीले मोदीलाई अन्तर्राष्ट्रिय समुदायले ब्रिक्स बैठकलाई नजिकबाट नियालिरहेको बताएका छन् । सीले दुवै देश विकासको निर्णायक चरणमा रहेकाले ‘विभिन्नता र असहमतिलाई होसियारीपूर्वक सम्हाल्न तथा एकअर्काको विकास आकांक्षाहरू पूरा गर्न सहज बनाउनुपर्ने बताएको’ चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356