विराटनगर—लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्र देहयेहमा इजरायली क्षेप्यास्त्र नझरेको रात छैन । सोमबार राति मात्रै देहयेहमा दर्जन पटक हवाई आक्रमण भयो । देहयेह नजिकै हजमियामा छिन् झापाकी कुमारी क्षेत्री । क्षेप्यास्त्र खसेको आवाजले उनको मनमा डर गडेको छ ।
‘बमको आवाजले सुत्न सकेको छैन । घण्टा घण्टाको फरकमा दिनरात जसो बमवारी भइरहेको छ । कहाँ हान्छ कसैलाई थाहा हुँदैन । कहिले मरिन्छ कि बाँचिन्छ टुंगो छैन । एक दिन त छोरा सम्झेर सार्है रोएँ,’ उनले भनिन् ।
१६ वर्षदेखि एउटै घरमा काम गरिरहेकी क्षेत्री परिवारको जिम्मेवारीका कारण उच्च जोखिम मोलेर भए पनि रोजगारीलाई निरन्तरता दिन बाध्य छिन् । उनी कार्यरत घरमा वृद्ध दम्पती छन् । ‘उनीहरूलाई त्यतिकै छोडेर जान मनले मान्दैन ।
मेरो हरेक अप्ठ्यारो समयमा उनीहरूकै साथसहयोग पाइरहेको छु,’ उनले भनिन् । क्षेत्रीकै कमाइले छोराको इन्जिनियरिङ पढाइको खर्च धानेको छ । ‘छोराले आमा फर्कनुस् भन्छ । तर के गर्नु ! उसको पढाइमा मात्रै २५–३० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भनिन्, ‘बैंक ब्यालेन्स छैन । म फर्किनेबित्तिकै उसको पढाइ टुट्छ ।’
रामेछापकी जुनकिरी मगरलाई छोराछोरीले घर नबोलाएको दिन छैन । २००९ देखि वेरुतमा काम गर्दै आएकी मगरलाई पनि छोराछोरीको पढाइकै चिन्ता छ ।
मासिक ६० हजार रुपैयाँ कमाइरहेकी मगर स्वदेश फिर्ना साथ आम्दानीको स्रोत गुम्ने बताउँछिन् । ‘म नेपालबाट फर्केको चार महिना मात्रै हुँदै छ । यहाँको कमाइले बालबच्चालाई पढाउन सकेकी छु । उनीहरूको आवश्यकता पूरा गर्न सक्षम भएकी छु । अरु कसैको भर परेकी छैन,’ उनले भनिन्, ‘नेपाल गए तुरुन्तै काम पाइँदैन । अर्को देश जान उमेरले दिँदैन । नेपाल सरकारले हामीजस्तो कामदारलाई अर्को देश जान रोकेको छ ।’
उनले आफू नेपाल जाने बेला पनि रोजगारदाताका तर्फबाट इजिप्टस्थित नेपाली दूतावासमा धरौटी बुझाएर श्रम स्वीकृति लिएको बताइन् । वैदेशिक रोजगार विभागले जोर्डन र साइप्रसबाहेकका देशमा घरेलु श्रममा जान अनुमति दिएको छैन ।
लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार बेरुत आसपासमा १२ सय नेपाली छन् । तीमध्ये ९० प्रतिशत घरेलु श्रमिक छन् । वैदेशिक रोजगार विभागले घरेलु श्रमिकमा महिलालाई लेबनान पठाउन रोक लगाउनुअघि गएकाहरूले रोजगारीलाई निरन्तरता दिँदै आएका छन् ।
विभागले सन् २०१० मा घरेलु महिला श्रमिकलाई लेबनान जान पूर्ण रूपमा रोक लगाएको थियो । त्यतिखेर १२ हजार महिला पुगिसकेका थिए । ‘पुराना घरेलु श्रमिकले छाड्दै गए । नयाँ श्रमिक भर्ना हुन पाएनन् । अहिले जे जति छन् । सबै आफ्ना रोजगारदातासँग सहज भएकाहरू छन्,’ गैरआवासीय नेपाली संघ लेबनानका संस्थापक अध्यक्ष दीपेन्द्र उप्रेतीले भने ।
इजरायलले लेबनानमा हवाई र स्थलगत आक्रमण थालेपछि हजारौं आप्रवासी बेवारिस बनेका छन् । विदेशी श्रमिकलाई कसैले आश्रय दिएका छैनन् । सयौं विदेशी श्रमिकको बास सडकमै हुन परेको छ । कोही सुरक्षित स्थलको खोजी गर्दै पहाडतिर सर्दै गएका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन (आईओएम) का अनुसार लेबनानमा नेपालीसहित १ लाख ७६ हजार ५ सय विदेशी श्रमिक छन् । उनीहरू विस्थापनका क्रममा छन् । कतिपय रोजगारदाता घरेलु श्रमिकलाई छाडेर हिँडेका छन् ।
बेरुतमा कार्यरत कास्कीका सरु गुरुङले भने अहिलेसम्म कुनै नेपाली महिला श्रमिक सडकमा नपुगेको बताइन् । ‘अहिले जो जति यहाँ हुनुहुन्छ, राम्रो व्यवहार गर्ने रोजगारदातासँग हुनुहुन्छ । रोजगारदाताको राम्रो व्यवहारकै कारण लेबनान छाड्न आँट आइरहेको छैन,’ उनले भनिन् । २००९ देखि लेबनानमा रहेकी गुरुङले ऋणको भारीका कारण घर फिर्ने आँट नभएको बताइन् । ‘म छोरालाई अस्ट्रेलिया पढाउने तयारी गरिरहेकी छु । मैले लेबनान छाड्नेबित्तिकै उसको अस्ट्रेलिया जाने योजना टुट्छ,’
उनले भनिन् ।