भारतीय कलाकार जो सांसद बने

Logo
Red FM बुधबार, जेठ २३, २०८१

विराटनगर— भारतीय लोकसभा चुनावमा यसपल्ट केही कलाकारसमेत विजयी भएका छन् । लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौतदेखि शत्रुघ्न सिन्हासम्म छन् ।

भारतीय कलाकार जो सांसद बने  

भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।

त्यस्तै भारतीय जनता पार्टी , भारतीय राष्ट्रिय कांग्रेस हुँदै तृणमूल कंग्रेसमा आएका वरिष्ठ कलाकार शत्रुघ्न सिन्हाले पनि चुनाव जितेका छन् । सिन्हाले पश्चिम बंगालको आसन्सोल क्षेत्रबाट भाजपाका सुरेन्द्रजीत सिंह अहलुवालियालाई हराउँदै लोकसभा चुनाव जितेका हुन् । उनी २ वर्षअघि आसन्सोल क्षेत्रमा भएको उपचुनावबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सिन्हा अटल बिहारी वाजपेयी सरकारमा केन्द्रीय मन्त्रीसमेत बनेका थिए ।

त्यस्तै भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारीले पनि दिल्लीबाट चुनाव जितेका छन् । उत्तरपूर्वी दिल्ली क्षेत्रमा उनले कांग्रेस नेता तथा जेएनयू छात्र संघका पूर्वसभापति कन्हैया कुमारलाई हराएका हुन् ।

त्यस्तै वरिष्ठ कलाकार हेमा मालिनी पुन: एकपल्ट उत्तर प्रदेशको मथुराबाट लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । उनले कांग्रेस उम्मेदवार मुकेश धनगरलाई झन्डै ३ लाख मतको अन्तरले हराएकी हुन् ।

त्यस्तै रामानन्द सागरको ‘रामायण’ मा मुख्य चरित्र निभाएका अरुण गोविल पनि भाजपाबाट लोकसभा सदस्य निर्वाचित भएका छन् । उत्तर प्रदेशको मेरठबाट उनले समाजवादी पार्टीकी सुनिता वर्मालाई करिब १० हजार मतान्तरले हराएका हुन् ।

त्यस्तै पछिल्लो समय ‘लापता लेडिज’ को अभिनयले निकै चर्चा कमाएका कलाकार रवीन्द्र शुक्ला अर्थात रवि किशन पुन: एकपल्ट लोकसभा सदस्यमा निर्वाचित भएका छन् । रवि किशन समाजवादी पार्टीकी काजल निशादलाई झन्डै १ लाख मतले हराउँदै गोरखपुर क्षेत्रबाट दोस्रो पल्ट सांसदमा विजयी भएका हुन् ।

त्यस्तै कलाकार तथा फिल्म निर्मातासमेत रहेका पवल कल्याण पनि आन्ध्र प्रदेशको विधानसभा चुनावमा निर्वाचित भएका छन् । उनी जनसेना पार्टीका प्रमुखसमेत हुन्। आन्ध्र प्रदेश विधानसभामा जनसेना पार्टी २१ सिटसहित दोस्रो ठूलो पार्टीका रूपमा खडा भएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356