विराटनगर । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा विभिन्न १० विधामा सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल छनोट भएको छ । उत्कृष्ट करदाता तथा कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र विभागका अधिकारीहरूले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
विभागका अनुसार उत्कृष्ट करदाताको सूचीमा सूर्य नेपाल, थर्ड आई इन्टरनेशनल, डाबर नेपाल प्रालि, तिन फाइनाइट सर्भिसेस नेपाल, ओसीबी फुड्स एण्ड फिड्स, नबिल बैंक, नोबेल कलेज तथा टिचिङ हस्पिटल, सोल्टी होटल लिमिटेड, सीजी इम्पेक्स प्रालि र फुड एण्ड बेभरेज रिसर्च सेन्टर प्रालि रहेका छन् ।
विधागत रूपमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ भने एकलौटी व्यवसायतर्फ थर्ड आई इन्टरनेशनल उत्कृष्ट बनेको छ । त्यस्तै, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल र कृषि तथा पशुपन्छी व्यवसायमा ओसीबी फुड्स एण्ड फिड्स उत्कृष्ट करदाता घोषित भएका छन् ।
