विराट ट्रेड फेयरमा २० करोड रुपैयाँको कारोबार, एक लाखभन्दा बढी उपभोक्ताले गरे अवलोकन
विराटनगर । विराटनगरमा आयोजित विराट ट्रेड फेयरमा अपेक्षाभन्दा बढी कारोबार भएको छ। नौ दिनसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक विराट व्यापार संघले जनाएको छ। मेलामा एक लाखभन्दा बढी उपभोक्ताले अवलोकन तथा खरिदारी गरेको बताइएको छ।
विराट व्यापार संघले विजया दशमीलाई लक्षित गर्दै असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनको प्राङ्गणमा ट्रेड फेयर आयोजना गरेको थियो। स्थानीय उत्पादन, औद्योगिक सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय उपकरण, कपडा, खाद्यान्न तथा विभिन्न व्यावसायिक सामग्रीको प्रदर्शनी र बिक्रीका लागि मेलामा १३० वटा स्टल राखिएका थिए।
मेलामा उपभोक्तालाई आकर्षित गर्न विभिन्न स्टलमा विशेष छुट, सहुलियत मूल्य र आकर्षक अफरको व्यवस्था गरिएको थियो। चाडपर्वको समयमा आवश्यक सामग्री एकै स्थानबाट खरिद गर्न पाएकाले उपभोक्ताको सहभागिता उल्लेख्य रहेको आयोजकको भनाइ छ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले मेलाबाट १६ करोड ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको भए पनि लक्ष्यभन्दा बढी अर्थात् करिब २० करोड रुपैयाँको कारोबार भएको जानकारी दिए। उनका अनुसार मेलामा उपभोक्ताको उत्साहजनक सहभागिता र व्यवसायीहरूको सक्रियताका कारण कारोबार बढेको हो।
मेलाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए। उद्घाटनका क्रममा मुख्यमन्त्री कार्कीले यस्ता व्यापार मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायीबीचको सहकार्य र उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा सामान उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
मेलाको समापन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका थिए। समापन कार्यक्रममा आयोजक तथा सहभागी व्यवसायीहरूले मेलाले व्यापारिक गतिविधि विस्तार गर्न र स्थानीय बजारलाई चलायमान बनाउन सहयोग पुगेको बताएका थिए।
मेलाका संयोजक श्यामलाल पौडेल ‘भवेष’ ले स्टलहरूमा छुटसहित सामान बिक्री गरिएकाले उपभोक्ताले प्रत्यक्ष लाभ लिएको बताए। उनले मेलामा सहभागी व्यवसायी र उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र ठूलो स्तरमा व्यापार मेला आयोजना गर्ने तयारी गरिने जानकारी दिए।
आयोजकका अनुसार मेलाले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवाको प्रचार–प्रसार गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई विभिन्न वस्तु तथा सेवाबारे जानकारी लिन र प्रतिस्पर्धी मूल्यमा खरिद गर्न सहज बनाएको छ।
