विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको मन्टेश्वरी तहमा दशैं, तिहार, नेपाल संवत्, म्हः पूजा र छठ पर्वको महत्त्व तथा सांस्कृतिक परम्पराबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ।
पाठ्यक्रममा चाडपर्वसम्बन्धी विषय समेटिए पनि ती पर्व कसरी मनाइन्छन् र तिनको सांस्कृतिक महत्त्व के छ भन्ने कुरा प्रत्यक्ष अनुभवबाट सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा नवरात्रिमा पूजा गरिने दुर्गा माताका विभिन्न स्वरूपमा विद्यार्थीलाई सजाएर पूजाआराधना गरिएको थियो। दशैंमा गरिने पूजाआजा, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक क्रियाकलापमा समेत विद्यार्थी सहभागी भएका थिए। त्यसैगरी, म्हः पूजाको विधि, तिहारका विभिन्न संस्कार र छठ पर्वमा गरिने धार्मिक तथा सांस्कृतिक गतिविधि विद्यार्थीले प्रदर्शन गरेका थिए।
मन्टेश्वरी तहअन्तर्गत प्ले ग्रुपदेखि कक्षा १ सम्मका करिब २५० जना विद्यार्थीले विभिन्न चाडपर्वको झल्को दिने प्रस्तुति दिएका थिए। कार्यक्रममार्फत बालबालिकालाई नेपाली समाजका विविध जातजाति, समुदाय र संस्कृतिमा प्रचलित चाडपर्वबारे सानै उमेरदेखि जानकारी गराउने प्रयास गरिएको थियो।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले चाडपर्व नेपाली समाजका संस्कृति, संस्कार र पहिचानका आधार भएको बताउनुभयो। पूर्वीय दर्शनमा आधारित नेपाली संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा दिन आवश्यक रहेको उहाँको भनाइ थियो।
“हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ। त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रूपमा चाडपर्वको प्रदर्शन गरिएको हो,” प्रिन्सिपल पुरीले भन्नुभयो।
एभरेष्ट विद्यालयले शिक्षालाई सीप, संस्कार र प्रविधिसँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै उहाँले किताबी ज्ञानलाई प्रयोगात्मक अभ्यासमार्फत सिकाउने पद्धतिलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। बालबालिकालाई सानै उमेरदेखि आफ्नो कला, धर्म, संस्कृति र संस्कारबारे सिकाउन सके त्यसले सांस्कृतिक मूल्य र मान्यताको संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
यस्ता कार्यक्रम प्रभावकारी हुँदै आएको बताउँदै प्रिन्सिपल पुरीले मन्टेश्वरी तहका विद्यार्थीले चाडपर्वसम्बन्धी प्रस्तुति दिएजस्तै आगामी दिनमा प्राथमिक तहका विद्यार्थीलाई पनि लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला तथा अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोललगायतको उपस्थिति थियो।
