मोरङ प्रहरी प्रमुखमाथि सम्भावित कारबाहीको चर्चाप्रति ‘द काउन्सिल अफ जेन–जेड मोरङ’को आपत्ति
विराटनगर– द काउन्सिल अफ जेन–जेड मोरङ ले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालमाथि स्पष्टीकरण सोधिएको तथा सम्भावित कारबाहीको चर्चा सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विराटनगरका एक उद्योगीको निवासमा कानुनबमोजिम प्राप्त सूचना र अनुसन्धानका आधारमा गरिएको खानतलासीका कारण प्रहरी प्रमुखमाथि स्पष्टीकरण सोधिएको तथा कारबाहीको चर्चा हुनु गम्भीर विषय भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा कुनै पनि व्यक्तिको सामाजिक, आर्थिक वा राजनीतिक हैसियतभन्दा कानुन माथि हुनुपर्ने उल्लेख गर्दै प्राप्त सूचना र कानुनी प्रक्रियाअनुसार अनुसन्धान गर्नु प्रहरीको वैधानिक दायित्व भएको जनाइएको छ। अनुसन्धानका क्रममा कुनै अवैध वस्तु वा प्रमाण फेला नपर्नु सम्बन्धित पक्षका लागि सकारात्मक विषय भए पनि त्यसकै आधारमा आफ्नो जिम्मेवारी निर्वाह गरेका प्रहरी अधिकारीलाई विवादमा तान्नु वा निरुत्साहित गर्नु न्यायोचित नहुने संस्थाको धारणा छ।
संस्थाले छानबिनमा परेको उद्योगी परिवारले समेत प्रहरीले आफ्नो कानुनी दायित्व पूरा गरेको भन्दै सार्वजनिक रूपमा सहयोग र समर्थन जनाएको अवस्थामा प्रहरी नेतृत्वमाथि कुनै स्वार्थ, दबाब वा प्रभावका आधारमा स्पष्टीकरण वा कारबाही गरिनु कानुनी शासन र निष्पक्ष अनुसन्धानको सिद्धान्तविपरीत हुने जनाएको छ।
यस्ता घटनाले इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको मनोबल कमजोर हुने र भविष्यमा प्रभावशाली व्यक्तिमाथि समेत कानुन कार्यान्वयन गर्ने साहस घट्न सक्ने उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर आमनागरिकको न्याय र सुरक्षामा पर्ने संस्थाको भनाइ छ।
द काउन्सिल अफ जेन–जेड मोरङले कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी तथ्य, प्रमाण र कानुनका आधारमा निष्पक्ष अनुसन्धानलाई निरन्तरता दिन, प्रहरी संगठनको मनोबल उच्च राख्न तथा कर्तव्यनिष्ठ प्रहरी अधिकारीमाथि अन्यायपूर्ण कारबाही नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
