सप्तकोशीको कटान रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त अभियान

Logo
Red FM शुक्रबार, साउन ०८, २०८३

सप्तकोशीको कटान रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त अभियान
वराहक्षेत्र । उदयपुरको सीमामा रहेको सप्तकोशी नदीको नदी उकास क्षेत्रस्थित श्रीलङ्का टापुमा तीव्र नदी कटान भएपछि स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीयवासी संयुक्त रूपमा कटान नियन्त्रण अभियानमा जुटेका छन्।
एक सातादेखि चिलैया र गरैया टापु क्षेत्रमा सप्तकोशीले तीव्र रूपमा जमिन कटान गर्न थालेपछि बस्ती र खेतीयोग्य जमिन जोखिममा परेको छ। स्थानीयवासीले जनप्रतिनिधिलाई जानकारी गराएलगत्तै सुनसरीको वराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी परिचालन गरी नियन्त्रण अभियान सुरु गरिएको हो।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की र बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको नेतृत्वमा कटानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै नदीको बहाव मोड्ने प्रयास भइरहेको छ। कटान रोक्न बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्ध निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ।
दुवै नगरपालिकाले आवश्यक माटो, बोरा र अन्य सामग्री उपलब्ध गराएका छन् भने स्थानीयवासी तथा सुरक्षाकर्मीहरू श्रमदानमार्फत दिनरात कटान नियन्त्रण अभियानमा सक्रिय छन्।
नगर प्रमुख रमेश कार्कीका अनुसार नदीको बहाव नियन्त्रण गरी थप क्षति हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। दीर्घकालीन समाधानका लागि कोशी परियोजना, कोशी बक्राह कटान नियन्त्रण, जिल्ला प्रशासन कार्यालय तथा भारतीय पक्षसँग समेत आवश्यक समन्वय अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
गत हिउँदमा निर्माण गरिएका १८ वटा ढुङ्गा भरिएका तारजालीयुक्त स्परमध्ये केही नदीको तीव्र कटानका कारण डुब्न थालेपछि तिनको संरक्षणलाई समेत प्राथमिकता दिइएको छ।
करिब पाँच दशकअघि सप्तकोशीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ मा फैलिएको छ। करिब तीन हजार जनसङ्ख्या बसोबास गर्ने यस टापुका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन्।
स्थानीयवासीले कटान तत्काल नियन्त्रणमा आएर बस्ती सुरक्षित रहोस् र वर्षौंदेखिको खेतीयोग्य जमिन जोगियोस् भन्ने अपेक्षा गरेका छन्। यही उद्देश्यका साथ स्थानीय सरकार, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयास निरन्तर जारी रहेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356