Logo
Red FM सोमबार, आषाढ ०८, २०८३

पौडेल पक्राउलाई ओलीले भने– गैरकानुनी र अपहरणको शैली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई नियन्त्रणमा लिइएको घटनालाई गैरकानुनी र अपहरणको शैलीको कदम बताएका छन्।
सोमबार प्रेस वक्तव्य जारी गर्दै ओलीले वर्तमान सरकारले विपक्षी दलप्रति पूर्वाग्रही भएर नाङ्गो राजनीतिक प्रतिशोध साँधिरहेको आरोप लगाए। उनले पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका बेला छापामार शैलीमा नियन्त्रणमा लिइएको उल्लेख गरेका छन्।
वक्तव्यमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।’
एमालेका अनुसार पौडेल सुर्खेतको कार्यक्रम सकेर मंगलबार काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिकामा थिए। सामान्य कानुनी प्रक्रिया अपनाएर सोधपुछ गर्न वा उपस्थित गराउन सकिने अवस्था हुँदाहुँदै नियतवश पक्राउ गरिएको पार्टीको दाबी छ।
पार्टीले सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने व्यक्तित्वलाई सस्तो राजनीतिक खपत र प्रचारका लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाएको छ।
ओलीले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी बाटोतर्फ उन्मुख भएको दाबी गर्दै यस्ता कदमको डटेर सामना गर्ने चेतावनी दिएका छन्।
‘विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ वक्तव्यमा भनिएको छ।
एमालेले सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।
उपाध्यक्ष पौडेललाई सोमबार दिउँसो सुर्खेतबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। उनलाई हाल नेपालगञ्जमा राखिएको र मंगलबार बिहान काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356