कोशी उद्योग वाणिज्य महासंघमा राउतको दबदबा कायम — ६९.७२% मतसहित पुनः अध्यक्षमा विजयी, रिजाल समूह भारी मतान्तरले पराजित
विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनमा राजेन्द्र राउतले प्रभावशाली जित हासिल गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले आफ्नो प्यानलसहित स्पष्ट बहुमत ल्याउँदै नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।
निर्वाचन समितिका अनुसार राउतले कुल १४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नविन रिजालले ५८ मत मात्र प्राप्त गरेका छन्। मतभारका आधारमा राउतले कुल ४६३० मतभार (६९.७२ प्रतिशत) प्राप्त गर्दै निर्णायक विजय हासिल गरेका हुन्। रिजालले भने १९४० मतभारमा सीमित हुनुपरेको छ।
निर्वाचन अधिकृत विकास थापाका अनुसार राउतले जिल्ला/नगर संघतर्फ ३८ मध्ये २४ मत (मतभार १८५०), एसोसिएटतर्फ खसेको १४७ मध्ये १०७ मत (मतभार ३२१०) र वस्तुगततर्फ १९ मध्ये ११ मत (मतभार ३८०) प्राप्त गरेका हुन्।
रिजालले जिल्ला/नगरतर्फ १३ मत (मतभार ६५०), वस्तुगततर्फ ६ मत (मतभार १२०) र एसोसिएटतर्फ ३९ मत (मतभार ११७०) प्राप्त गरेका थिए।
तीन वर्षअघि झापामा सम्पन्न निर्वाचनमा निर्विरोध अध्यक्ष बनेका राउतले यसपटक भने नविन रिजालसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपरेको थियो। तर सबै क्लस्टरमा अग्रता कायम गर्दै उनले सहज जित निकाले। यससँगै आठ वर्षअघि मोरङ व्यापार संघको कार्यकारिणी सदस्य निर्वाचनमा व्यहोरेको हारको बदला समेत राउतले यसपटक लिएको विश्लेषण गरिएको छ।
मत परिणामअनुसार:
वस्तुगततर्फ राउत ११ मत, रिजाल ६ मत
जिल्ला/नगरतर्फ राउत २४ मत, रिजाल १३ मत
एसोसिएटतर्फ राउत १०७ मत, रिजाल ३९ मत
महासंघको नेतृत्व चयनका लागि कुल २०५ मतदाता सहभागी रहेका थिए। जसमा जिल्ला/नगर संघबाट ३८ (१८५० मतभार), वस्तुगत संघसंस्थाबाट १९ (३८० मतभार) र एसोसिएटतर्फ १४८ (४४१० मतभार) रहेका थिए। जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको थियो भने एसोसिएटतर्फ एक मत कम खसेको थियो।
१४ सदस्यीय प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षसहित ५ खुला सदस्य र २ वस्तुगत सदस्य पदमा प्रतिस्पर्धा भएको थियो।
अन्य पदाधिकारीहरूमा भने राउत समूहको वर्चस्व कायम रह्यो। जिल्ला/नगरतर्फ उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रविनकुमार दाहाल सर्वसम्मत निर्वाचित भएका छन्। कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भएका छन्।
त्यसैगरी, एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। जिल्ला/नगरतर्फका ५ सदस्य पदमा ७ जनाबीच प्रतिस्पर्धा हुँदा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नविनकुमार चौधरी विजयी भएका छन्। शेरबहादुर भण्डारी र शोभा कोइराला पराजित भए।
वस्तुगततर्फका दुई सदस्य पदमा भएको प्रतिस्पर्धामा सुवास आचार्य (११ मत) र दीपक पाण्डे (१५ मत) विजयी भए भने धनबहादुर काफ्ले ६ मतसहित पराजित भए।
विजयपछि प्रतिक्रिया दिँदै अध्यक्ष राउतले आफूले गरेका प्रतिबद्धताअनुसार सबै क्षेत्रबाट समर्थन प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न निरन्तर संघर्ष गर्ने बताए।
यस निर्वाचन परिणामले कोशी प्रदेशको निजी क्षेत्रको नेतृत्वमा राउत समूहको प्रभाव अझ सुदृढ बनेको विश्लेषण गरिएको छ।
