विराटनगरमा ‘हाम्रो प्रयास’को सीपमूलक तालिम सम्पन्न, २० जना सहभागी

Logo
भोजराज घिमिरे बिहिबार, चैत्र १९, २०८२

विराटनगरमा ‘हाम्रो प्रयास’को सीपमूलक तालिम सम्पन्न, २० जना सहभागी
विराटनगर। सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।
चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर महानगरपालिका–७ स्थित हाम्रो प्रयासको कार्यालयमा आयोजना गरिएको हो। तालिममा २० जना सहभागी रहेका थिए।
कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष मधु बाबु तिवारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो। कार्यक्रम संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा पूर्व महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, सल्लाहकार एवं प्रदेश परिषद् सदस्य पत्रकार बिनोद सुवेदी, पत्रकार भोजराज घिमिरे, वडा नं. ७ का जनप्रतिनिधि तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
संस्थाकी उपाध्यक्ष प्रविशा ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम स–सचिव प्रमिला कर्णले सञ्चालन गर्नुभएको थियो।
तालिममा सहभागीहरूलाई नुहाउने अर्गानिक साबुन, सर्फ, झोल साबुन, फिनेल तथा हार्पिक उत्पादनसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो। साथै सामग्रीको प्रयोग, मापन विधि, गुणस्तर नियन्त्रण तथा बजार व्यवस्थापनबारे समेत जानकारी दिइएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्य विशेषगरी महिला तथा युवालाई आत्मनिर्भर बनाउँदै साना उद्यममार्फत आयआर्जनका अवसर सिर्जना गर्नु रहेको अध्यक्ष ढकालले बताउनुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष तिवारीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सामूहिक रूपमा उद्योग सञ्चालन गर्न सुझाव दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, अधिवक्ता रुपेश कोइरालाले ‘हाम्रो प्रयास’ले सञ्चालन गरेका सीपमूलक कार्यक्रमहरूको प्रशंसा गर्दै यसअघि तालिम लिएका सहभागीहरूले उत्पादन गरेका सामग्री गुणस्तरीय रहेको अनुभव सुनाउनुभयो।
तालिमको संयोजन गीता पोख्रेलले गर्नुभएको थियो भने प्रशिक्षकका रूपमा मिरा देवी आचार्यले सहजीकरण गर्नुभएको थियो। आचार्यले आफैं यसै संस्थाबाट तालिम लिएर प्रशिक्षक बनेको अनुभव पनि कार्यक्रममा साझा गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष तिवारीलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
हाम्रो प्रयासले यस्ता सीपमूलक तालिममार्फत समुदायस्तरमा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356