विराटनगरमा घर निर्माण प्रदर्शनी भव्य रूपमा सम्पन्न
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको घर निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार आयोजित समापन समारोहमार्फत प्रदर्शनीको औपचारिक समापन गरिएको हो।
प्रदर्शनीमा सहभागी ८१ वटा स्टलमध्ये उत्कृष्ट प्रदर्शन गर्ने पाँच स्टललाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। उदयीमान तथा सम्भावनायुक्त नयाँ व्यवसायतर्फ हनुमन्ता एस प्रा.लि., उत्कृष्ट स्टल डिजाइन तथा सजावटतर्फ मार्वेल टेक्नोप्लास्ट प्रा.लि., नवीन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतीतर्फ विन्डुर सोलुसन, दर्शकसँग उत्कृष्ट संलग्नताका लागि सिटी मार्वेल्स तथा दिगो अभ्यास तथा स्थानीय मूल्य अभिवृद्धिका लागि बेम्बु आर्किटेक्चरल एण्ड एलाईड सोलुसनलाई सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने विभिन्न संयोजक तथा सदस्यहरूलाई प्रशंसा पत्रद्वारा कदर गरिएको छ। प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा, भेन्यु व्यवस्थापन समितिका संयोजक दीपक अग्रवाल, थिमेटिक सेसन समितिका सौरभ सारडा, पुरस्कार समितिका संयोजक किरण व्यास, स्टल व्यवस्थापनका सिद्धार्थ काबरा, थिमेटिक सेसनका वीरेन्द्र राठी तथा कार्यक्रम अधिकृत अशु चौहानलाई सम्मान गरिएको हो। साथै उद्योगी पारस लुनियालाई विशेष सम्मान प्रदान गरिएको थियो।
समापन समारोहमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्रदर्शनी अपेक्षाभन्दा बढी सफल भएको बताउँदै घर निर्माण क्षेत्रका सम्पूर्ण पक्षलाई एउटै छानामुनि ल्याउन सफल भएको उल्लेख गरे। उनले यसले नेपाली उत्पादन तथा सेवाको प्रवर्द्धन र नवप्रवर्तनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले प्रदर्शनी उच्चस्तरीय रहेको बताउँदै स्वदेशी उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले उत्पादन घटेर ५०–६० प्रतिशतमा सीमित भएको उल्लेख गर्दै बजार व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए। साथै पुँजीगत खर्च वृद्धि र स्वदेशी तथा आयातित वस्तुबीच भन्सार दरमा अन्तर गर्नुपर्नेमा उनले जोड दिए।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले समयसँगै घर निर्माणका विधि र सामग्रीमा आएको परिवर्तनलाई प्रदर्शनीले स्पष्ट रूपमा प्रस्तुत गरेको बताए। उनले वातावरणमैत्री, भूकम्पप्रतिरोधी र प्रविधिमैत्री निर्माणमा जोड दिनुपर्ने धारणा राखे।
मारवाडी सेवा समितिका उपाध्यक्ष जुगलकिशोर राठीले प्रदर्शनीलाई प्रशंसनीय पहलका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले निर्माण क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
