कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु ‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’

Logo
भोजराज घिमिरे शुक्रबार, चैत्र १३, २०८२

कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु
‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’
विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ सुरु भएको छ। बिहीबारदेखि सुरु भएको उक्त प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।
घर निर्माणसँग सम्बन्धित विविध क्षेत्रका उद्योग, व्यवसायी तथा उत्पादनलाई एकै थलोमा प्रस्तुत गर्दै आम नागरिकलाई घर निर्माण तथा मर्मतसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। आयोजकका अनुसार प्रदर्शनीमार्फत नवीन प्रविधि, निर्माण सामग्री, डिजाइन तथा सेवाबारे सर्वसाधारणले प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछन्।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको बताए। उनका अनुसार प्रदर्शनीले उद्योगी–उद्योगी तथा उद्योग–उपभोक्ताबीच सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
उनले भने, “प्रदर्शनीको तयारी सन्तोषजनक छ। कार्यकारिणी समिति, सदस्य तथा कर्मचारीहरूको मेहनतले सबै स्टलहरू तयारी अवस्थामा पुगेका छन्।”
प्रदर्शनीमा सहभागी उद्योगीहरूले आफ्ना स्टल सजावट तथा सामग्री व्यवस्थापन उत्साहपूर्वक गरिरहेका छन्। आयोजकले प्राविधिक तथा सैद्धान्तिक विषयमा आधारित ‘थिमेटिक सेसन’हरू पनि सञ्चालन गर्ने जनाएको छ, जसमा अनुभवी विज्ञहरूबाट प्रशिक्षण तथा जानकारी प्रदान गरिनेछ।
विद्यार्थी तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूलाई लक्षित गर्दै इन्जिनियरिङ कलेजहरूसँग समेत समन्वय गरिएको छ। यसले सहभागीलाई ज्ञान र सीप विकासको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीस्थलमै प्रत्यक्ष बिक्री भने नहुने जनाइएको छ। तर, अवलोकनकर्ताले निर्माण सामग्रीको गुणस्तर, मूल्य तथा विवरणबारे जानकारी लिन सक्नेछन् र सम्बन्धित कम्पनीसँग सम्पर्क गरी अर्डर गर्न सक्नेछन्। आयोजकका अनुसार यो प्रदर्शनी ‘बीटुबी’ र ‘बीटुसी’ दुवै प्रकारको प्लेटफर्मका रूपमा सञ्चालन भइरहेको छ।
प्रदर्शनीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन्। उनले यस्ता प्रदर्शनीहरूले सुरक्षित र व्यवस्थित घर निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, यस्ता उत्पादनमूलक प्रदर्शनीको आवश्यकता औंल्याउँदै उनले प्रदर्शनीस्थल निर्माणका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए।
प्रदर्शनीका संयोजक तथा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले प्रदर्शनीले नेपाली निर्माण सामग्री तथा सेवाको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने बताए।
त्यसैगरी, विभिन्न उद्योगी व्यवसायीहरूले यस्ता कार्यक्रमले निर्माण क्षेत्रलाई चलायमान बनाउने र आयातमा निर्भरता घटाउने धारणा व्यक्त गरेका छन्।
प्रदर्शनीमा भूकम्प प्रतिरोधी निर्माण, विद्युत तथा अग्नि सुरक्षा, स्मार्ट डिजाइन, होम अटोमेसन, सौर्य प्रणाली, वातावरणमैत्री निर्माण, वाटरप्रूफिङ तथा पुराना संरचनाको सुदृढीकरण जस्ता विषयमा विशेषज्ञ सत्र सञ्चालन भइरहेका छन्।
प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित ७५ वटा स्टलहरू समावेश छन्। आयोजकका अनुसार दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनमा अन्य क्षेत्रगत प्रदर्शनीहरू आयोजना गर्ने योजना समेत रहेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356