मोरङ–३ मा एमाले उम्मेदवार इरनकुमार राईको २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक
पथरी शनिश्चरे समाचारदाता
मोरङ निर्वाचन क्षेत्र नम्बर–३ का इरनकुमार राईले आफ्नो २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। नेकपा एमालेद्वारा बेलबारीमा आयोजित कार्यक्रममा बोल्दै राईले पार्टीको संगठन बलियो रहेको र आफू गाउँबस्तीमा भिजेको सरल तथा नयाँ अनुहार भएकाले जित सुनिश्चित हुने दाबी गर्नुभयो।
उहाँले लामो समय शिक्षा सेवा र साहित्य क्षेत्रमा योगदान दिएको उल्लेख गर्दै आफूलाई बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गरेको बताउनुभयो। साथै, जेनेरेशन–जेड (१८–२१ वर्ष) उमेर समूहलाई लक्षित गर्दै अर्धसैनिक अभ्यास तालिम, स्वरोजगार प्रवर्द्धन र भ्रष्टाचार निर्मूल पार्ने अभियान अघि सारिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश सदस्य एवं सांसद ज्ञानेन्द्र सुवेदी, पूर्व प्रदेश मन्त्री राजकुमार ओझा, प्रदेश सदस्य दिलीपकुमार राई ‘किशोर’ लगायत नेताहरूको उपस्थिति रहेको थियो।
प्रमुख प्रतिबद्धताहरू
राईले नागरिक हितलाई केन्द्रमा राख्दै संविधान संशोधन, प्रदेश सरकारको पुनर्संरचना, सुशासनका लागि डिजिटल सेवा तथा इ–गभर्नेन्सको थालनी गर्ने योजना प्रस्तुत गर्नुभयो। क्षेत्रअन्तर्गतका पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैंचामा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
कृषि क्षेत्रमा दीर्घकालीन नीति निर्माण गरी सिँचाइको दिगो व्यवस्थापनका लागि तमोर–चिसाङ बहुउद्देश्यीय डाइभर्सन आयोजना सञ्चालन, ४३ देखि ११७ मेगावाटसम्म विद्युत उत्पादन, १० हजार मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण तथा “एक वडा–एक कृषि प्राविधिक” कार्यक्रम लागू गरिने उल्लेख छ।
त्यसैगरी, अव्यवस्थित भूमि समस्या समाधान, सडक स्तरोन्नति, बेलबारी–राधानगरस्थित पेट्रोल खानी उत्खनन, “सीप सिक्दै, पढ्दै” तथा “पढ्दै कमाउँदै” कार्यक्रममार्फत घरमै बसेर स्नातक तहसम्म अध्ययनको अवसर विस्तार गरिने योजना अघि सारिएको छ।
सामाजिक सुरक्षातर्फ भत्ता पाँच हजार रुपैयाँ पुर्याउने, स्वास्थ्य बीमा पाँच लाख रुपैयाँसम्म विस्तार गर्ने, धार्मिक आस्थास्थल संरक्षण, खोला तटबन्धन, युवा तथा खेलकुद विकास, रोजगारी सिर्जना, सेवारत तथा सेवानिवृत्त जनशक्तिको उपयोग र “आफ्नो गाउँ आफैं बनाऔं” अभियानमार्फत जनश्रमदानलाई प्रोत्साहन गरिने प्रतिबद्धता जनाइएको छ।
सूर्य चिन्हका उम्मेदवार राईले हाल घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहनुभएको छ।
