एकैदिन २० हजारले सुन महँगियो, अन्तर्राष्ट्रिय तनाव र डलर कमजोर हुनु मुख्य कारण

Logo
भोजराज घिमिरे बिहिबार, माघ १६, २०८२

एकैदिन २० हजारले सुन महँगियो, अन्तर्राष्ट्रिय तनाव र डलर कमजोर हुनु मुख्य कारण
विराटनगर।
बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीबारका लागि बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन २० हजार रुपैयाँले बढेको हो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढाव र नेपाल भन्सारसहितको लागत आधारमा दैनिक रूपमा सुनको मूल्य निर्धारण गर्दै आएको छ। स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको थियो। माघ सुरु भएयता १५ दिनमै सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँले बढिसकेको छ। पुस ३० गते सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय कारण प्रमुख
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार भन्सार दर नबढेको अवस्थामा स्थानीय कारणले यति ठूलो मूल्यवृद्धि सम्भव हुँदैन।
उनका अनुसार हालको तीव्र मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा सुन महँगिनुको प्रत्यक्ष प्रभाव हो।
“डलर कमजोर हुँदै जानु र विश्व अर्थतन्त्र अस्थिर बन्दै जानुले सुन सुरक्षित लगानीको रूपमा आकर्षक बनेको छ,” बज्राचार्यले भने।
डलर कमजोर हुनु र सुन महँगिनुका ६ कारण
बज्राचार्यका अनुसार हालको मूल्यवृद्धिका पछाडि मुख्य रूपमा निम्न ६ अन्तर्राष्ट्रिय कारण रहेका छन्–
१. युद्ध र राजनीतिक तनाव
इरानमाथि सम्भावित अमेरिकी आक्रमण र खाडी क्षेत्र (कतार, साउदी अरेबिया, युएई आदि) मा युद्ध फैलिन सक्ने आशंकाले विश्व बजारमा अस्थिरता बढाएको छ।
२. विश्वयुद्धको डर
इरान–अमेरिका युद्धमा चीन र रूस पनि जोडिएमा विश्वयुद्धको खतरा बढ्ने विश्लेषण छ। यसले लगानीकर्ताहरूलाई जोखिमयुक्त सम्पत्तिबाट सुरक्षित सम्पत्तितर्फ, विशेषगरी सुनतर्फ आकर्षित गराएको छ।
३. नयाँ व्यापारिक गठबन्धन
क्यानडा र बेलायतका प्रधानमन्त्रीको चीन भ्रमण, युरोपियन युनियन र भारतबीचको व्यापारिक सम्झौताले विश्व आर्थिक शक्ति सन्तुलनमा परिवर्तन ल्याएको छ।
४. अमेरिकी डलरको अवमूल्यन
अमेरिकाले क्यानडाजस्ता देशमाथि ट्यारिफ लगाउने घोषणा गरेपछि डलरप्रतिको विश्वास घट्दै गएको छ, जसको असर सुनको मूल्यमा परेको छ।
५. केन्द्रीय बैंकद्वारा सुन सञ्चिति वृद्धि
भारत, चीनलगायत देशका केन्द्रीय बैंकहरूले डलर बेचेर ठूलो मात्रामा सुन खरिद गरिरहेका छन्। चीनले एकैपटक करिब १४०० टन सुन थप गरेको उदाहरण दिइन्छ।
६. डलरको विकल्प खोज्ने रणनीति
चीनले युआनलाई अन्तर्राष्ट्रिय रूपमा बलियो बनाउने र ‘ब्रिक्स’जस्ता वैकल्पिक मुद्रा प्रणाली विकास गर्ने रणनीति लिँदा डलरको सट्टा सुनतर्फ लगानी बढेको छ।
मूल्य अझै बढ्न सक्ने संकेत
विश्लेषकहरूका अनुसार विश्व राजनीतिक र आर्थिक अस्थिरता यथावत् रहेमा सुनको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356