न्यू सृष्टि दैनिकको १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

Logo
भोजराज घिमिरे सोमबार, माघ १३, २०८२

न्यू सृष्टि दैनिकको १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
विराटनगर ।
न्यू सृष्टि दैनिकले विगत १५ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको वार्षिकोत्सव तथा सम्मान कार्यक्रम यस वर्ष पनि भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
न्यू सृष्टि दैनिकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा शनिबार विराटनगरस्थित होटेल एसियाटिकमा विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मको उल्लेख्य उपस्थिति रहेको थियो।
मह जोडी प्रमुख अतिथि
१५औँ वार्षिकोत्सवका प्रमुख अतिथि वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) रहेका थिए।
विशिष्ट अतिथिमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल र वरिष्ठ गायिका देविका बन्दना प्रधान सहभागी थिइन्।
प्रमुख अतिथि श्रेष्ठ र आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
छापा पत्रकारिता संकटमा
कार्यक्रमको स्वागत मन्तव्यमा न्यू सृष्टि दैनिकका सम्पादक निर्मल ढुंगानाले स्थानीय मुद्दालाई प्राथमिकता दिएकै कारण न्यू सृष्टि दैनिक लोकप्रिय बन्न सफल भएको बताए।
उनले विज्ञापनमा आएको संकुचन, अस्वस्थ प्रतिस्पर्धा र शिथिल अर्थतन्त्रका कारण छापा माध्यम संकटमा परेको उल्लेख गरे।
निजी क्षेत्रको तर्फबाट बोल्दै वरिष्ठ उद्योगी तथा समाजसेवी महेश जाजुले विराटनगरवासीलाई न्यू सृष्टि दैनिक “बानी परिसकेको” बताए।
“बिहान चियासँगै पत्रिका नपढे फोन गरेर माग्छु,” उनले भने।
उनले आर्थिक विकास बिना देश अगाडि बढ्न नसक्ने उल्लेख गर्दै पछिल्लो समय नेताहरूले भोटभन्दा नोटको कुरा बढी गर्ने गुनासो पनि व्यक्त गरे।
विभिन्न विधामा सम्मान तथा नगद पुरस्कार
कार्यक्रममा समाज, उद्योग, शिक्षा, स्वास्थ्य, पत्रकारिता, कला, खेलकुद, युवा, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
मुख्य सम्मान तथा पुरस्कार यसप्रकार रहेका छन् :
न्यू सृष्टि दैनिक स्व. जगदीशप्रसाद राठी उद्यमी पुरस्कार – देवकीनन्दन अग्रवाल
(नगद रु. ११,१११ र सम्मानपत्र)
युवा उद्यमी पुरस्कार – दिवाकर राठी
न्यू सृष्टि दैनिक पत्रकारिता पुरस्कार – अरविन्द मेहता
(नगद रु. ९,९९९)
स्व. महेन्द्र गोल्छा आर्थिक पुरस्कार – राजेन्द्र राउत
(नगद रु. ५१,०००)
स्वास्थ्य पुरस्कार – जलन विशेषज्ञ डा. मुकुन्द झा
(नगद रु. ११,१११)
सर्वोत्कृष्ट टिकटक अवार्ड – टीनाराज गुरुङ (पोखरा)
शिक्षा पुरस्कार (स्व. शिरीष रिजाल) – ज्ञानबहादुर खड्का
सामुदायिकतर्फ: सत्यनारायण माध्यमिक विद्यालय
संस्थागततर्फ: बीकेभिएम स्कुल
कला पुरस्कार – बसुन्धरा भुषाल
खेलकुद पुरस्कार – वैकुण्ठ मानन्धर
संगीत पुरस्कार – देविका बन्दना प्रधान
फरक क्षमता युवा खेलाडी पुरस्कार – स्वीकृत न्यौपाने
विशेष नागरिक सम्मान – मदनकृष्ण श्रेष्ठ
कलाकारहरूको सन्देश
सम्मानपछि बोल्दै हरिवंश आचार्यले न्यू सृष्टि दैनिकबाट पाएको सम्मानले आफू गौरवान्वित भएको बताए।
मदनकृष्ण श्रेष्ठले दर्शकलाई भगवानको संज्ञा दिँदै सबै दलको उद्देश्य देश विकास नै भएको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्काले देशभक्ति गीत प्रस्तुत गर्दै माहौल तताएका थिए।
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन♦
वार्षिकोत्सवकै अवसरमा लाईफ लङ पोलिक्लिनिक प्रा.लि., विराटनगर–११को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।
शिविरमा फिजिसियन, आँखा, नाक–कान–घाँटी तथा दाँत रोग विशेषज्ञद्वारा सुगर, प्रेसर, थाइराइड, दम, बाथ, पेट, ग्यास्ट्रिक र किड्नीसम्बन्धी परीक्षण गरिएको थियो।
पोलिक्लिनिकका प्रशासन प्रमुख अमृतकुमार साहका अनुसार आँखा तथा कानसम्बन्धी सबै किसिमका रोगको उपचार सेवा उपलब्ध गराइएको थियो। शिविरबाट १०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।
कार्यक्रमको समापन गर्दै न्यू सृष्टि दैनिकका प्रबन्धक एवं प्रधानसम्पादक शंकर खरेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356