पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित पाथिभरा नौमती बाजा समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित आय–व्यय विवरण सार्वजनिक गरेको छ।
शनिबार जलेश्वर शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा नौमती बाजा समूह तथा नौमती बाजा संरक्षण समितिको संयुक्त आयोजनामा आर्थिक विवरण सार्वजनिक गरिएको हो।
समितिका सचिव दीपक ढुंगानाका अनुसार देउसी–भैलो कार्यक्रमबाट कुल २ लाख ६८ हजार १ सय २६ रुपैयाँ आम्दानी भएको थियो। खर्च कटाएर समूहको १ लाख ६८ हजार १ सय २७ रुपैयाँ बचत रहेको जानकारी उहाँले दिनुभयो।
पाथिभरा नौमती बाजा समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि युवराज बास्कोटाले जेनतेन अवस्थामा रोपिएको यस संस्थालाई अझ सबल र दिगो बनाउने जिम्मेवारी समितिका पदाधिकारीहरूको रहेको उल्लेख गर्नुभयो।
उहाँले पथरी शनिश्चरे क्षेत्रमा सामाजिक र सांस्कृतिक पहिचान विकास गर्न मादल, ढोलक, च्याब्रुङ, डम्फु जस्ता मौलिक बाजासँगै नौमती बाजाको संरक्षणमा सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संरक्षण समितिका सदस्यहरू राजकुमार गेलाल, घनश्याम भट्टराई, घनश्याम अधिकारीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
समूहलाई थप जीवन्त बनाउने उद्देश्यले विधान संशोधन कार्यदल समिति गठन गर्ने र पुरानो समितिलाई विघटन गर्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
नयाँ विधान संशोधन कार्यदल समितिमा तेजमाया कार्की संयोजक रहनुभएको छ भने सदस्यहरूमा राजकुमार गेलाल, घनश्याम भट्टराई, मुक्ति अधिकारी र इन्द्र गौतम चयन हुनुभएको छ। साथै, आजीवन सदस्यता प्रदान गर्ने निर्णयसमेत गरिएको छ।
उक्त अवसरमा समितिका क्रियाशील सदस्यहरूलाई रुद्राक्ष माला, खादा र अबिर लगाएर सम्मान गरिएको थियो।
सचिव ढुंगानाका अनुसार १ हजार ५ रुपैयाँ सहयोग गर्ने दातालाई आजीवन सदस्य तथा ५ सय रुपैयाँभन्दा माथि सहयोग गर्नेहरूलाई संस्थाको साधारण सदस्यता प्रदान गरिने व्यवस्था गरिएको छ।
