प्र.म.नि. दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताह २०८२ शुभारम्भ दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु, सभ्यताको मापन ट्राफिक नियमबाट : आईजीपी कार्की

Logo
भोजराज घिमिरे शनिबार, पुष २६, २०८२

प्र.म.नि. दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताह २०८२ शुभारम्भ
दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु, सभ्यताको मापन ट्राफिक नियमबाट : आईजीपी कार्की
काठमाडौं, पौष २६ (शनिबार) —
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आजदेखि ट्राफिक सप्ताह २०८२ औपचारिक रूपमा शुभारम्भ भएको छ। दुर्घटना न्यूनीकरणलाई लक्ष्य गर्दै सञ्चालन गरिएको विशेष अभियान तथा ट्राफिक सप्ताहको र्‍याली काठमाडौंको बसन्तपुरबाट सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पुगेर औपचारिक सभामा परिणत भएको हो।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो। उहाँले ट्राफिक अनुशासन र नागरिकको सक्रिय सहभागिताबाट मात्रै सुरक्षित यातायात सम्भव हुने बताउनुभयो।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ट्राफिक व्यवस्थापनलाई बेवास्ता गरिए भविष्यमा गम्भीर असहज अवस्था सिर्जना हुने चेतावनी दिनुभयो।
त्यस्तै, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफूले अघिल्लो समय ट्राफिक स्वयंसेवकको भूमिका निर्वाह गरेको स्मरण गर्दै ट्राफिक व्यवस्थापन कुनै एक निकायको मात्र दायित्व नभई सबै पक्षको साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघ, मजदुर संगठनका अध्यक्षहरू लगायत सरोकारवाला संस्थाका प्रतिनिधिहरूले ट्राफिक सप्ताह सफल बनाउन संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले
“ट्राफिक नियमको पालना अरूका लागि होइन, आफ्नै सुरक्षाका लागि हो। ट्राफिक नियम पालना गर्ने संस्कृतिले नै समाजको सभ्यता मापन हुन्छ,”
भन्दै सबैलाई नियम पालना गर्न आह्वान गर्नुभयो।
यसै अवसरमा **भदौ २४ गते तोडफोड भई पूर्ण रूपमा क्षतिग्रस्त भएको मेट्रो ट्राफिक एफ.एम.**को पुनः सञ्चालनको उद्घाटन पनि आईजीपी कार्कीले गर्नुभयो।
कार्यक्रमको समापनमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा प्रहरी वरिष्ठ अधिकृतहरू, काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा समुदायका सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ट्राफिक सप्ताह २०८२ का प्रमुख कार्यक्रमहरू
ट्राफिक सप्ताहको अवसरमा निम्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छः
पैदलयात्रीलाई सुरक्षित रूपमा सडक काट्ने प्रशिक्षण
दुई पाङ्ग्रे सवारी चालक लक्षित जनचेतनामूलक कार्यक्रम
कलेज तथा विद्यालय सम्पर्क कार्यक्रम
रात्रिकालीन सवारीका चालक तथा परिचालकलाई सचेतना अभियान
अन्य विविध ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू
ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356