पनौती–७ मा शाखा खुलेको १० दिनमै सार्वजनिक सरोकारको पहिलो सामाजिक कार्यक्रम
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–७ मा सार्वजनिक सरोकार (Public Concern) को शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न भएको छ। शाखाको समन्वयमा बाल आदर्श आधारभूत विद्यालय, पस्थलीमा विद्यार्थी लक्षित सहयोग कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयको माग अनुसार कार्यक्रममा ५० सेट न्यानो विद्यार्थी पोशाक (ट्रयाकसुट) वितरण गरिएको छ। हाल अमेरिकामा बसोबास गरिरहेका तर नेपालप्रति निरन्तर समर्पित कञ्चन कणेल, केजिया कणेल, मन्दिप केसी, सन्ध्या शर्मा र दिपेन कडरीयाको सहयोगमा पोशाक वितरण गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, फुलचोकी ट्राउट तथा कृषि फर्मकी प्रोप्राइटर रूपा श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरूका लागि तातो तथा चिसो पानी पिउन दुई थान वाटर डिस्पेन्सर सहयोग गरेकी छन्। युवा व्यवसायी प्रदिप कार्कीले प्रत्येक हप्ता दुई पटक विद्यार्थीहरूको पोषणका लागि अण्डा सहयोग गर्ने घोषणा गर्दै अण्डा हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रमको सभापतित्व सार्वजनिक सरोकारका केन्द्रीय अध्यक्ष तथा निवर्तमान जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी उपस्थित थिए।
कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष रामबहादुर केसी, दाताका प्रतिनिधि सानीआमा गीता कणेल, सार्वजनिक सरोकारका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व लेफ्टिनेन्ट कर्नेल भूदिपराज कणेल, पुण्य माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा काभ्रेपलाञ्चोक शाखा संयोजक सरस्वती कणेल, राजेशराज महत, उमेशराज महत, युवा व्यवसायी प्रदिप कार्की, सिविन नेपाल पस्थलीकी प्रतिनिधि, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
अनुशासित, भव्य र सभ्य रूपमा सम्पन्न कार्यक्रममा आयोजकले सहयोगी दाताहरू, कार्यक्रम अवधिभर उपस्थित भई साथ दिने अतिथि तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
