रेडस्टारमा एसईई तथा एसएलसी लक्षित उत्प्रेरणात्मक तालिम सम्पन्न
पथरी शनिश्चरे, पुस ७
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ स्थित रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले एसईई तथा एसएलसी परीक्षा लक्षित उत्प्रेरणात्मक तालिम (Exam Boost Up cum Goal Setting Seminar) सञ्चालन गरेको छ।
विद्यालयले आज बिहान कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि तथा दिउँसो कक्षा ९ र १० का विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा नेपालका चर्चित पीस एजुकेसन का फाउन्डर तथा सीईओ एवम् उत्प्रेरक प्रशिक्षक ईश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो। उनले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, स्पष्ट लक्ष्य निर्धारण, अनुशासन र सकारात्मक सोचमार्फत उत्कृष्ट नतिजा हासिल गर्न सकिने विषयमा प्रेरणादायी धारणा प्रस्तुत गर्नु भयो।
श्रेष्ठले विद्यार्थीहरूलाई संस्कारयुक्त जीवनशैली अपनाउँदै कडा परिश्रम र आत्मविश्वासका साथ अघि बढे उज्यालो भविष्य निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।
ब्रिटिस काउन्सिलद्वारा अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त उक्त विद्यालयका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८ सयभन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।
