कोशी प्रदेशका डीआईजी घिमिरे : ‘अपराधमा संलग्न जोसुकैलाई कारवाही हुन्छ’
कोशी प्रदेश — कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) घिमिरेले अपराधमा संलग्न जो–सुकैलाई पनि कडाइका साथ कारवाही हुने चेतावनी दिएका छन्। बिहीबार कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रदेशको सुरक्षा प्रणालीलाई प्रभावकारी, भरोसायोग्य र नागरिकमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
डीआईजी घिमिरेले प्रदेशका प्राथमिकता, चुनौती र समाधानका मार्गचित्रबारे आफू स्पष्ट रहेको उल्लेख गर्दै अपराधका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिने विश्वस्त गरे।
जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको चर्चा भए पनि कोशी प्रदेश प्रहरी संगठन सबल र अनुशासित रहेको उनको दाबी थियो। “नेपाल प्रहरीले धेरै आन्दोलनको सामना गरिसकेको छ, त्यसैले प्रहरीको कार्यमनोबल घट्दैन,” उनले भने।
अपराध नियन्त्रणमा कडाइ, ट्राफिक र भन्सार छली नियन्त्रणमा जोड
डीआईजी घिमिरेका अनुसार प्रदेशमा शान्ति–सुरक्षा कायम राख्न जनचेतनामूलक कार्यक्रम तीव्र, ट्राफिक व्यवस्थापन सुदृढ, भन्सार छली तथा चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसारपसार रोकथाममा कडा प्रहरी परिचालन गरिनेछ।
विराटनगरमा चुनौती बनेको ‘सिटी सफारी’को अव्यवस्थित यात्रालाई नियमित र सुरक्षित बनाउन ‘सुरक्षित चालक’ अभियान संचालन गरिने जानकारी उनले दिए।
विद्यार्थी छात्रावास सम्बन्धी जोखिमप्रति प्रहरी सावधान
विराटनगरलाई शैक्षिक केन्द्रका रूपमा हेरिए पनि केही छात्रावास आपराधिक घटनाको स्थान बन्नसक्ने जोखिम रहेको उल्लेख गर्दै उनले यस विषयमा सरोकारवालासँग आवश्यक छलफल गरी कडाइका उपाय लागू गरिने बताए।
लागुऔषधमा संलग्न युवा बढी
प्रहरी हिरासतमा रहेका थुनुवामध्ये २० देखि ३० वर्ष उमेर समूहका आधाभन्दा बढी व्यक्ति लागुऔषध सेवन वा ओसारपसारमा संलग्न रहेको तथ्यांक सार्वजनिक गर्दै उनले यसमा समुदाय पनि सचेत हुनुपर्नेमा जोड दिए।
प्रविधिमैत्री अनुसन्धान प्राथमिकतामा
डीआईजी घिमिरेले कोशी प्रदेशमा प्रविधिमैत्री अनुसन्धान, सीसीटीभी एकीकृत प्रणाली, डिजिटल प्रमाण सुरक्षित राख्ने प्रविधिलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखिने बताए।
उनका अनुसार सबै जिल्लामा प्रहरी संगठनले जनताको मन जित्नेगरी काम गर्दै प्रदेशको सुरक्षा अवस्थालाई अझ व्यवस्थित बनाइनेछ।
