

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार (साउन २५) का लागि बाढीको चेतावनी जारी गरेको छ। विभागले साना नदीहरूमा जलस्तर बढ्ने सम्भावना औंल्याउँदै केही जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती र राप्ती जस्ता ठूला नदीहरू हाल सतर्कता तहभन्दा तल रहे पनि स्थानीय स्तरमा बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ।
डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली लगायतका जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बताइएको छ।
यसका साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं उपत्यका, कास्की, जुम्ला लगायत २६ जिल्लाका साना नदीहरूमा मध्यम खालको बाढीको जोखिम रहेको छ।
विभागले पहाडी नदी तटवर्ती बस्तीहरू र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै ‘पहेँलो सतर्कता’ जारी गरेको छ।