नेपाल वायुसेवा निगम ६७औं वर्षमा प्रवेश, चुनौतीहरू कायमै |

Logo
Red FM मंगलबार, आषाढ १७, २०८२

नेपाल वायुसेवा निगम (Nepal Airlines Corporation – NAC) ले आफ्नो ६७औं वर्षमा प्रवेश गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको यो राष्ट्रिय ध्वजावाहकले २८ सिट क्षमताको Douglas DC-3 Dakota विमानमार्फत सेवा प्रारम्भ गरेको थियो। हाल निगमसँग दुईवटा Airbus A330-200 र दुईवटा Airbus A320 विमान छन्, जसबाट भारतका नयाँ दिल्ली, मुम्बई, बैंगलोरसहित हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युएईको दुबई र साउदी अरेबियाको रियादसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ।

घरेलु तर्फ निगमले केवल दुईवटा ट्विन अटर विमानबाट दुर्गम क्षेत्रहरूमा सेवा दिइरहे पनि सीमित विमान संसाधनका कारण आन्तरिक बजारमा उपस्थिति कमजोर देखिएको छ। लामो इतिहास बोकेको भए पनि निगम आर्थिक तथा प्रबन्धन पक्षमा अझै चुनौतीको सामना गरिरहेको छ। करिब ५० अर्ब रुपैयाँ बराबरको ऋणभार रहेको यस संस्थाको मुख्य ऋण स्रोत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट बृहत् शरीरका विमान किन्दा लिइएको हो।

विगतमा कार्यक्षमता र प्रतिस्पर्धा अभावका कारण आलोचना खेपेको निगमको छवि पछिल्लो समय केही सुध्रिएको छ, जसमा अन्तर्राष्ट्रिय प्रवर्द्धन र ग्राउन्ड ह्यान्डलिङ सेवाको सुधारको भूमिका छ। यद्यपि, विभिन्न सुधार समितिका सुझावहरू अझै कार्यान्वयनमा आउन सकेका छैनन्।

अन्तर्राष्ट्रिय उडानहरू हाल पूर्ण क्षमतामा सञ्चालन भइरहे पनि आन्तरिक उडान विस्तार अझै असम्भव देखिन्छ। आगामी दिनमा निगमले आफ्नो साख पुनः स्थापित गर्न आन्तरिक सुधार, रणनीतिक योजना, र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिन आवश्यक छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356