

भोक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक गर्यो ६० करोड ३६ लाख ५० हजारको बजेट, पत्रकार मेहतालाई विशेष सम्मान –इनरुवा, —
भोक्राहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६० करोड ३६ लाख ५० हजार रुपैयाँको बजेट गाउँसभा मार्फत सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न १८औं गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष अजमल अख्तर अजादले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
सभामा अध्यक्ष अजादले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार कृषिपेशामा आधारित किसानहरूलाई सहयोग गर्दै कृषि मोटर बोरिङ, निशुल्क स्वास्थ्य बीमा, सडक तथा बाटो कालोपत्र तथा मर्मत, पोलबत्ती जडान, महिला उद्यमशीलता अभिवृद्धि तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम समावेश गरिएको छ।
कार्यक्रममा अध्यक्ष अजादले “गाउँपालिकाको समृद्धिका लागि उत्पादनमुखी कृषि, सबल पूर्वाधार, सुलभ स्वास्थ्य र समावेशी सामाजिक विकासमा केन्द्रित नीति कार्यान्वयन गरिनेछ,” भन्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँसभाको अवसरमा नेपाल पत्रकार महासंघ, सुनसरीका जिल्ला कार्यसमिति सदस्य तथा सञ्चारकर्मी सुरेन्द्र मेहतासहित उत्कृष्ट पाँच कर्मचारीहरूलाई विशेष सम्मान गरिएको छ।
सञ्चार सेवामार्फत समाज परिवर्तनमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप पत्रकार मेहतालाई दोसल्ला ओढाई, अबिरको टीका र सम्मानपत्र प्रदान गरिएको हो।
सम्मान कार्यक्रमका प्रमुख सम्मानदातामा पालिका अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी रहेका थिए।
सम्मानले पत्रकारिता क्षेत्रलाई थप प्रेरणा र जिम्मेवारीका साथ अघि बढ्न मद्दत पुग्ने अपेक्षा गरिएको छ
गाउँसभा कार्यक्रममा नेपाली काङ्ग्रेस सभापति युवराज दाहाल, उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, वडा नं. १ का अध्यक्ष लक्ष्मे मेहता, वडा नं. २ का आलम अन्सारी, वडा नं. ३ का धिरेन्द्र यादव, वडा नं. ४ का हारुण अन्सारी, वडा नं. ५ का हबिब मन्सुरी, वडा नं. ६ का सेराजुदिन मन्सुरी, वडा नं. ७ का बोवालाल यादव, वडा नं. ८ का उष्मान मिया, विभिन्न वडाका सदस्य, पालिकाका कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो