

विराटनगरमा उप-प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न
पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : “गठबन्धनले महिला सहभागिता घटायो
विराटनगर,— विराटनगरमा शुक्रबारदेखि सुरु भएको स्थानीय तहका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी गठबन्धनले महिलाको राजनीतिक सहभागिता घटाएको गुनासो राखेकी छन्।
सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपतिले भनिन्, “राजनीतिक दलबीच गठबन्धन हुँदा महिला उम्मेदवारहरूको अवसर घटेको छ, जसले नेतृत्वमा महिलाको उपस्थिति कम गराएको छ।”
भण्डारीले लोकतान्त्रिक मूल्य र समावेशिताको संरक्षण गर्न महिला नेतृत्वमा जोड दिन आवश्यक रहेको धारणा राखिन्। संविधानले महिलाको हक सुनिश्चित गरे पनि व्यवहारमा गठबन्धनले महिलालाई पछि पार्ने गरेको उनको भनाइ थियो।
उहाँले जनप्रतिनिधिहरूले विकास निर्माण, आर्थिक समृद्धि र जनताका आवश्यकता सम्बोधन गर्ने खालका नीतिमा प्राथमिकता दिनु पर्नेमा पनि जोड दिनुभयो। “संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्छ,” भण्डारीले भनिन्।
पत्रकारहरूको प्रश्नमा आफू अझै सक्रिय राजनीतिमा रहेको बताउँदै उनले पार्टी अध्यक्ष बन्ने समयबारे भने, “समय आउला नि।”
सम्मेलनमा स्वागत मन्तव्य दिँदै विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले स्थानीय तहका प्रमुख र उप–प्रमुखबीच विराटनगरको जस्तै समन्वय हुनुपर्ने धारणा व्यक्त गरिन्। उनले भनिन्, “विकास निर्माणमा प्रमुख र उप–प्रमुख एक ढिक्का भएर लाग्नु आजको आवश्यकता हो।”
दुई दिने सम्मेलनमा देशभरका २०० भन्दा बढी स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको छ। कार्यक्रममा संविधानमा स्पष्ट नभएको अधिकारको विषयमा समूहगत छलफल गरी “विराटनगर घोषणा पत्र” जारी गर्ने तयारी गरिएको उप–प्रमुख कार्कीले जानकारी दिइन्। उक्त घोषणापत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइनेछ।
नेपालको संविधान २०७२ अनुसार उप–प्रमुखहरू न्यायिक समिति तथा राजस्व बाँडफाँट समितिका संयोजक हुन्छन्, तर धेरैजसो अधिकार प्रमुखसँग मात्र केन्द्रित भएको भन्दै उपप्रमुखहरूले अधिकार सुनिश्चित गर्न साझा माग राख्ने तयारी गरेका छन्।