

चितवन, जेठ ६ – चितवनको इच्छाकामना गाउँपालिका-७ स्थित दाहाखानीमा रहेको भ्यु रिसोर्टको स्विमिङ्ग पुलमा २५ वर्षीय युवकको शव फेला परेको छ। बिहीबार राति भएको घटनामा मृतकको पहिचान भरतपुर महानगरपालिका-२२ का लोकेश महतोको रूपमा भएको प्रहरी स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, महतो आफ्ना साथीहरूसँग पौडी खेल्न गएका थिए। स्विमिङ्गमा नदेखिएपछि साथीहरूले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेपछि साथीहरूलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार, घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिनेछ।