
टोकियो, जापान — सरकारले हालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार जापानमा करिब ३९ प्रतिशत मानिसले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने बताएका छन्। यो तथ्यांकले गत वर्ष लागू गरिएको एक्लोपन न्यूनीकरण सम्बन्धी कानुनले खासै प्रभाव पारेको नदेखाएको जनाइएको छ।
सन् २०२४ मा गरिएको सर्वेक्षणमा “सधैं वा प्रायः”, “कहिलेकाहीँ” वा “कहिलेकाहीँ मात्र” एक्लोपन महसुस गर्ने व्यक्तिहरुको संख्या ३९.३ प्रतिशत रहेको छ, जुन सन् २०२३ को सर्वेक्षणसँग समान छ। यो संख्या सन् २०२१ मा सर्वेक्षण सुरु भएयता धेरै नबदलेको हो।
यस पटकको सर्वेक्षणमा पहिलो पटक स्मार्टफोनको प्रयोग र एक्लोपनबीचको सम्बन्धबारे पनि अध्ययन गरिएको थियो। दिनमा आठ घण्टा भन्दा बढी स्मार्टफोन प्रयोग गर्नेहरूमा १३.३ प्रतिशतले “सधैं वा प्रायः” एक्लोपन महसुस गर्ने बताएका छन्।
सातदेखि आठ घण्टा मोबाइल चलाउनेमा यो दर ९.५ प्रतिशत रहेको छ, जुन मोबाइल कम प्रयोग गर्नेहरूको तुलनामा बढी हो।