
कर्णाली नदीमा छुट्टाछुट्टै स्थानबाट दुई किशोर बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा डुबेर उनीहरू बेपत्ता भएको जनाइएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडाका १६ वर्षीय विराज बिष्ट पचालझरना गाउँपालिका नजिकको जर्कोटमा पौडी खेल्ने क्रममा हराएका हुन्, जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
त्यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९, दौंसुरका १५ वर्षीय भूपेन्द्र सावन शुक्रबार दिउँसो लामाडुवाला घाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेशबहादुर बरालले जानकारी दिए।
दुवै किशोरको खोजीमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। हालसम्म उनीहरू फेला परेका छैनन्।