

पथरीशनिश्चरे खेलकुद महोत्सव : पुलचोकलाई ५-१ ले पराजित गर्दै देविगन्ज सेमिफाइनलमा
पथरीशनिश्चरे, बैशाख २६ ।
पथरीमा जारी नगर खेलकुद महोत्सव अन्तर्गत आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा देविगन्ज फुटबल क्लबले पुलचोक फुटबल क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
खेलको प्रारम्भिक क्षणदेखि नै आक्रामक देखिएको देविगन्जले १० औं मिनेटमा गोलको सुनौलो अवसर गुमायो, जब बल पोलमा ठोक्किएर बाहिरियो। त्यसपछि १२ औं मिनेटमा पुलचोकका गोलरक्षक क्रिस धिमालले उत्कृष्ट बचाउ गर्दै टोलीलाई बचाए।
२९ औं मिनेटमा पुलचोकका डिफेन्डर राजन धिमालको आत्मघाती गोलले देविगन्जलाई १-० को अग्रता दिलायो। ३१ औं मिनेटमा देविगन्जका कप्तान सन्तोष न्यौपानेले अर्को मौका पाए पनि बल पुनः पोलमा लागेर बाहिरियो।
दोस्रो हाफको सुरुआतमै देविगन्जले आक्रमणलाई तीव्र बनायो। ४१ औं मिनेटमा मिक्सन दासले गोल गर्दै अग्रता दोब्बर बनाए। ४५ औं मिनेटमा भीषण राईले गोल थप्दै स्कोर ३-० पुर्याए।
खेलको ५६ र ६५ औं मिनेटमा क्रमशः कप्तान सन्तोष न्यौपाने र स्ट्राइकर मिक्सन दासले गोल गर्दै स्कोरलाई ५-० मा पुर्याए। ७० औं मिनेटमा पुलचोकका रेहमान आचार्यले एक मात्र सान्त्वना गोल फर्काए।
ईन्जुरी समयमा मिक्सन दासले ह्याट्रिकको अवसर पाए पनि बल पुनः पोलमा ठोक्किएर सफल हुन सकेनन्।
खेलमा देविगन्जका वसन्त लिम्बू म्यान अफ द म्याच घोषित भए। उनले ट्रफीका साथ नगद २ हजार पुरस्कार प्राप्त गरे।
भोलि महोत्सवको पहिलो सेमिफाइनल खेल नाजरिन फुटबल क्लब र प्रभात सामुदायिक युवा क्लबबीच हुने आयोजकले जनाएकोछ ।